कांग्रेसको १५औँ महाधिवेशन : करिब ४४ हजार युवा नेतृत्वमा, १ लाखभन्दा बढी आकांक्षी

कांग्रेसको १५औँ महाधिवेशन : करिब ४४ हजार युवा नेतृत्वमा, १ लाखभन्दा बढी आकांक्षी

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनमार्फत देशभरबाट ३५ वर्षमुनिका करिब ४४ हजार युवा पार्टीको पदीय जिम्मेवारीमा पुगेका छन्।

विधानमा गरिएको अनिवार्य युवा प्रतिनिधित्वको व्यवस्थाका कारण यति ठूलो संख्यामा नयाँ पुस्ता पार्टी संरचनामा आएको हो।

विधान मस्यौदा समितिका सदस्यसचिव प्रताप पौडेलका अनुसार वडा तहबाटै गरिएको आरक्षणका कारण ३३ हजार ७१५ जना क्षेत्रीय प्रतिनिधि र १० हजार २७१ जना वडा सदस्य निर्वाचित भएका छन्।

यसरी तल्लो तहमै ४३ हजार ९८६ जना युवाले जिम्मेवारी पाएका छन्।

यी पदहरूका लागि देशभरबाट करिब १ लाख युवाले उम्मेदवारी दिएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।

स्थानीय तहबाट चुनिएका यिनै प्रतिनिधिहरू माथिल्लो तहका समितिहरूमा पनि निर्वाचित हुने क्रममा छन्। जसअनुसार देशभरबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र १६५ जना महासमिति सदस्य युवा नै चुनिनेछन्।

यस्तै, सातवटै प्रदेशबाट एक महिला र एक पुरुष गरी पहिलोपटक १४ जना युवा केन्द्रीय कार्यसमितिमा प्रवेश गर्दै छन्।

प्रदेश र जिल्ला कार्यसमितिहरूमा समेत युवाको अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरिएकाले यसपटक पार्टीका सबै तहमा युवा सहभागिता उल्लेख्य रूपमा बढेको कांग्रेसले जनाएको छ।

असोज १३, २०८३ मंगलबार ०७:२९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।