गृहमन्त्री सुधनलाई मिराजको प्रश्न : चोलेन्द्रलाई धम्की दिने जेनजी हो भन्ने प्रमाण के?

गृहमन्त्री सुधनलाई मिराजको प्रश्न : चोलेन्द्रलाई धम्की दिने जेनजी हो भन्ने प्रमाण के?

काठमाडौं : पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि जेनजीबाट आएको भनिएको सुरक्षा धम्कीको वास्तविकता सार्वजनिक गर्न गृह मन्त्रालयसँग माग गरिएको छ। शनिबार मध्यरातमा घरबाटै राणालाई नियन्त्रणमा लिएपछि प्रहरीले असुरक्षा देखेर उनलाई सुरक्षा दिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा ल्याएको भनेको थियो।

राणालाई जेनजीबाट सुरक्षा थ्रेट रहेको भनिएको थियो। देशका करिब ७२ लाख जेनजीलाई एकमुष्ट दोषारोपण हुने गरी आपराधिक गिरोह जसरी शंकाको घेरामा पारिएको उक्त सुरक्षा धम्कीको प्रमाण र कानुनी आधार पेस गर्न ​जेनजी अगुवा मिराज ढुंगानाले माग गरे। उक्त धम्की कसबाट, कहिले र कुन माध्यमबाट कुन आधारमा जेनजीबाट आएको भनी निष्कर्ष निकालिएको हो भन्ने विषय प्रष्ट पार्नुपर्ने उनको भनाई छ।

गृहमन्त्री सुधन गुरुङलाई सम्बोधन गरिएको निवेदनमा घटना अनुसन्धान गर्नुको सट्टा विनाआधार सिङ्गो पुस्तालाई नै अपराधीकरण गर्न खोजिएको भन्दै उनले आपत्ति जनाएका छन्। उनले पूर्व प्रधानन्यायाधीश राणालाई जेनजीबाट सुरक्षा धम्की आएको पुष्टि गर्न गृहमन्त्री गुरुङलाई ६ प्रश्न सोधेका छन् :

१. पूर्व प्रधानन्यायाधीशलाई वास्तविक रूपमा धम्की आएको हो वा होइन?
२. धम्की आएको भए त्यसको आधिकारिक स्रोत, माध्यम र प्रकृति के हो?
३. उक्त धम्कीलाई कुनै अनुसन्धानबिनै ‘जेनजीबाट आएको’ भनी पहिचान गर्ने वस्तुगत आधार के हो?
४. यस विषयमा नेपाल प्रहरी वा अन्य सुरक्षा निकायको अनुसन्धान निष्कर्ष के छ?
५. कुनै व्यक्ति वा समूहविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको भए त्यसको कानुनी धरातल के हो?
६. कुनै अमुक घटनाको आडमा ७२ लाख युवा पुस्तालाई नै शंकाको घेरामा धकेल्ने सार्वजनिक धारणाप्रति गृह मन्त्रालयको दृष्टिकोण के हो?

संविधानले प्रत्याभूत गरेको व्यक्तिगत स्वतन्त्रता र कानुनको शासन स्मरण गराउँदै ढुंगानाले राज्यका निकायबाटै तथ्यहीन रूपमा पुस्ता विशेषलाई आरोपित गर्दा समाजमा गम्भीर अविश्वास र भ्रम पैदा हुनसक्ने उल्लेख गरेका छन्। घटनाको वास्तविकता, सुरक्षा निकायको निष्कर्ष र मन्त्रालयको आधिकारिक धारणा यथाशीघ्र सार्वजनिक गरी नागरिक तहमा उब्जिएको अन्योल अन्त्य गर्न उनको माग छ।

असोज १२, २०८३ सोमबार १८:२२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।