सर्लाहीमा छिमेकीको दाहसंस्कारमा गएका वृद्ध खोलामा डुबेर बेपत्ता
सर्लाही : सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा गएका एक वृद्ध लखन्देही सोती खोलामा डुबेर बेपत्ता भएका छन्।
सोमबार दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु साह खोलामा डुबेर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार मंगलबार दिउँसो छिमेकीको दाहसंस्कारका क्रममा खोलामा नुहाउन पस्दा साहलाई खोलाको बहावले बगाएको हो।
केही दिनदेखि परेको अविरल वर्षाका कारण खोलामा पानीको सतह बढेकाले वृद्ध बेपत्ता भएका हुन्। उनको खोजी कार्यमा स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए।
असोज १२, २०८३ सोमबार १७:४६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।