पूर्व प्रधानन्यायाधीश राणाले सुरक्षाको माग गर्दै प्रहरीमा दिए निवेदन
काठमाडौं : पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले परिवार र आफ्नो असुरक्षा बढेको भन्दै सुरक्षाको प्रबन्ध गरिदिन काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा निवेदन दिएका छन्।
शनिबार मध्यरातमा घरबाटै राणालाई प्रहरीले नियन्त्रणमा लिएपछि चौतर्फी विरोध भएको थियो। प्रहरीले असुरक्षा देखेर उनलाई सुरक्षा दिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा ल्याएको भनेको थियो। प्रहरीले आइतबार उनलाई परिवारको जिम्मा लगाएर छोडेको थियो। सोही दिन राणाले सुरक्षा माग गर्दै निवेदन दिएका हुन्।
राणाको तर्फबाट छोरा सचिन्द्र शमशेर जबराले दिएको निवेदनमा वर्तमान परिस्थिति, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका सुरक्षासम्बन्धी प्रश्नहरूसँगै विगतमा जिम्मेवारी वहन गरेको क्रममा सम्पादन गरेका न्यायिक निर्णयका कारण आफूहरू असुरक्षित बनेको उल्लेख गरिएको छ।
“मेरो विगतमा राज्यका अंगहरूमा वहन गरेका जिम्मेवारी, राज्यको न्यायपालिकाको प्रमुखको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णय लगायतको कारण पनि ममाथि थप असुरक्षाको महसुस भएको छ,” जबराले निवेदनमा भनेका छन्, “मैले कतिपय कुराहरू हालका मितिमा यस कार्यालयमा आइसकेपश्चात् पनि जानकारी पाएँ। यस कारण मलाई थप सुरक्षा थप गरी पाउन यो निवेदन पेस गरेको छु।”
अदालती प्रक्रियामा रहेका विचाराधीन विषयमा चासो राख्दै बुढानीलकण्ठमा रहेको एक रिसोर्टमा निरन्तर शंकास्पद भेटघाटको सूची प्रधानमन्त्री वालेन्द्र शाहसम्म पुगेपछि शनिबार मध्यरात उनलाई बाँसबारीको घरबाटै नियन्त्रणमा लिइएको स्रोतले उकेरालाई बताएको थियो।

असोज १२, २०८३ सोमबार १६:१०:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।