हिम्लुङ हिमपहिरो : चार जनाको मृत्यु, १० भन्दा बढी बेपत्ता

हिम्लुङ हिमपहिरो : चार जनाको मृत्यु, १० भन्दा बढी बेपत्ता

काठमाडौं : मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको पुष्टि भएको छ।

हिमपहिरोमा परेका अन्य ११ जना सकुशल सदरमुकाम पुगेका छन् भने १० जनाभन्दा बढी बेपत्ता रहेको अनुमान गरिएको छ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो। यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार हिमपहिरोमा ज्यान गुमाएकामध्ये दुई जनाको शव सोमबार बिहानै पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण (टिचिङ) अस्पताल पठाइएको छ। बाँकी दुई जनाको शव मनाङको सदरमुकाममा राखिएको छ।

उद्धार टोली हेलिकोप्टरबाट सम्भावित क्षेत्रमा परिचालित भएको र सोमबार अपरान्हसम्ममा केही अपडेट दिन सकिने उनले बताए।

बेस क्याम्प निर्माण, डोरी टाँग्नेसहितका कामका लागि गएका एक्सपोर्टेसन र हिमालयन होलिडेज कम्पनीका कामदार हिमपहिरोमा परेका हुन्। 

असोज १२, २०८३ सोमबार १२:५७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।