बिपी राजमार्ग खुलाउने प्रयास जारी, भोलि अपराह्नसम्म सञ्चालनमा ल्याउने तयारी
बनेपा : पछिल्लो चार दिनको निरन्तर वर्षाका कारण बिपी राजमार्गका विभिन्न स्थानमा गएको पहिरो तथा रोशी नदीको कटानले अवरुद्ध बनेको यातायात सेवा सञ्चालनमा ल्याउन तीव्र प्रयास भइरहेको छ।
राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
डिभिजन सडक कार्यालय, भक्तपुरको टोली प्राविधिक र उपकरणसहित सडक खुलाउन निरन्तर सक्रिय रहेको र मौसमले साथ दिएमा भोलि (असोज १३ गते) अपराह्नदेखि राजमार्गमा पुनः यातायात सञ्चालनमा ल्याउन सकिने सम्भावना रहेको प्रजिअ अधिकारीले बताए।
काठमाडौंलाई पूर्वी नेपाल तथा तराईका जिल्लाहरूसँग जोड्ने यो छोटो र राजमार्गमा वर्षायाममा पटक-पटक बाढी तथा पहिरोको समस्या दोहोरिँदै आएको छ। विसं २०८१ असोज दोस्रो साताको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढी र पहिरोले राजमार्गको काभ्रे खण्डमा ठूलो क्षति पुर्याएपछि सडक अहिले स्थायी पुनर्निर्माणको चरणमा छ।
त्यसबेला यातायात चलाउन निर्माण गरिएका अस्थायी 'डाइभर्सन'हरू हालैको वर्षा र बाढीले पुनः प्रभावित बनेका हुन्।
जापानी सहयोग नियोग (जाइका) को सहयोगमा निर्मित यो राजमार्ग अवरुद्ध हुँदा पूर्वी नेपाल जाने हजारौँ यात्रु, सवारी चालक, स्थानीय व्यापारी तथा सर्वसाधारण मारमा परेका छन्।
असोज १२, २०८३ सोमबार १२:२०:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।