दुवैतिरबाट पहिरोले घेरिएका थिए प्रेमबहादुर र ललित, १२ घण्टापछि हेलिबाट उद्धार
म्याग्दी : चारैतिर गर्जंदो पहिरो, तल-माथि अक्करे भिर। मोबाइलमा नेटवर्क छैन, चिच्याएर गुहार माग्ने ठाउँ पनि छैन।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर पुन र वडा नं १ दोवाका ४१ वर्षीय ललित पुन आइतबार यसरी नै मृत्युको मुखमा करिब १२ घण्टा छट्पटाए।
लगातार चार दिनको झरीपछि आइतबार बिहानैदेखि प्रेमबहादुरको घर वरिपरि भीषण पहिरो खस्यो।
डाँडामा रहेको घरको दुवैतर्फका खोल्सा उर्लिएर आएपछि उनीहरू बीचमै थुनिए। दिउँसो ३ बजे नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी सदरमुकाम बेनी ल्याएपछि मात्र उनीहरूको सास फर्कियो।
‘मेरो घर डाँडामा छ। दायाँ-बायाँ पहिरो खसिरह्यो, तल र माथि भिर भएकाले भाग्ने बाटो कतै थिएन। अब हाम्रो जीवन यत्तिकै सकिने भयो भन्ने त्रासमै बसिरह्यौँ,’ उद्धारपछि प्रेमबहादुरले भने, ‘फोन कतै लाग्दैनथ्यो, छट्पटीमै १२ घण्टा बित्यो। दिउँसो पानी रोकिएर आकाश खुलेपछि जब हेलिकप्टरको आवाज सुनियो, बल्ल बाँच्ने आशा पलायो।’
घरमा एक्लै बस्दै आएका प्रेमबहादुरको घरमा ललित संयोगले बास बस्न पुगेका थिए। उनी खोपारा लेकस्थित भेडागोठबाट चार महिनापछि घर फर्कंदै थिए।
‘गोठबाट घर जाँदै थिएँ, रात परेपछि पाहुना बसेकै ठाउँमा पहिरोले घेर्यो,’ ललितले भावुक हुँदै भने, ‘अब त परिवार र आफन्तको अनुहार कहिल्यै देख्न नपाइने भयो भन्ने लागेको थियो। बेनी त आइपुगियो, तर घरमा फोन लाग्दैन, बाटो पनि छैन। कतिबेला परिवारलाई भेटौँला भएको छ।’
मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा कार्यरत प्रेमबहादुरले बल्लतल्ल नेपाली सेनाको घारखोला पोस्टका कमान्डरलाई सम्पर्क गर्न सकेकाले उनीहरूको उद्धार सम्भव भएको थियो। बेनी आइपुगेपछि पुनद्वयले स्थानीय प्रशासन, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई धन्यवाद दिए।
७८ जनाको हेलिकप्टरबाट उद्धार, औला गाउँ त्रासमा
लगातारको झरी र पहिरोले अन्नपूर्ण गाउँपालिका-५ का गिवाङ, पाउद्वार, घिरवाङ, धोस्केखोर र किन्दु गाउँलाई पूर्ण रूपमा सम्पर्कविच्छेद गरिदिएको छ। सडक र गोरेटो बाटोसमेत बगेपछि कोही गोठ त कोही गाउँमै थुनिएका छन्।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार आइतबार पाउद्वार र गिवाङबाट जोखिममा परेका ७८ जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरी शिख, घार र बेनी सुरक्षित स्थानमा सारिएको छ। सोमबार पनि थप उद्धार उडान गरिने प्रशासनले जनाएको छ।
उता, अन्नपूर्ण गाउँपालिका-७ औलाका करिब एक सय घरपरिवार अहिले पनि आकाशे उद्धारको प्रतीक्षामा छन्। बस्ती माथिबाट निरन्तर पहिरो खसिरहेकाले स्थानीयवासी घर छाडेर स्वास्थ्य चौकी भवन र पाखाका गोठहरूमा शरण लिएर बसेको स्थानीय डिलप्रसाद फगामीले जानकारी दिए।
६ जनाको मृत्यु, तीन बेपत्ता : जिल्लाभर सडक र सञ्चार ठप्प
म्याग्दीमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ भने ३ जना अझै बेपत्ता छन्। प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार अन्नपूर्ण गाउँपालिकामा ४ र मालिका गाउँपालिकामा २ जनाको शव भेटिएको छ। त्यस्तै, बेनी नगरपालिकामा १ र अन्नपूर्णमा २ जना बेपत्ता छन्।
भौगोलिक विकटता, लगातारको वर्षा र सञ्चार तथा विद्युत् सेवा अवरुद्ध हुँदा उद्धार र खोजी कार्यमा कठिनाइ भइरहेको सहायक प्रजिअ कुलप्रसाद आचार्यले बताए।
पहिरोले बेनी-जोमसोम, बेनी-दरवाङ, बेनी-पाखापानी र बेनी-बागलुङ सडक पूर्ण रूपमा अवरुद्ध भएपछि म्याग्दीको जनजीवन ठप्प बनेको छ।
आंशिक सम्पादनसहित प्रकाशित राससको सामग्री
असोज १२, २०८३ सोमबार ११:५९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।