वर्षा रोकिएसँगै बेनी-दरवाङ सडक मर्मत सुरु, मुस्ताङ जोड्ने बेनी-जोमसोम खण्ड अझै अवरुद्ध

वर्षा रोकिएसँगै बेनी-दरवाङ सडक मर्मत सुरु, मुस्ताङ जोड्ने बेनी-जोमसोम खण्ड अझै अवरुद्ध

म्याग्दी : अविरल वर्षा रोकिएसँगै म्याग्दीको पश्चिमी क्षेत्रलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरवाङ सडक मर्मतको काम सुरु गरिएको छ।

बाढी-पहिरोले अवरुद्ध भएको सडक खुलाउन पूर्वाधार विकास कार्यालयमार्फत आइतबार अपराह्नदेखि उपकरण परिचालन गरिएको हो।

गण्डकी प्रदेश सरकार मातहत रहेको बेनी-दरवाङ-मुना सडकले म्याग्दीका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका साथै बागलुङको तमानखोला गाउँपालिकालाई जोड्छ।

पहिरो पन्छाएसँगै आइतबार साँझदेखि बेनीदेखि तातोपानीसम्मको आठ किलोमिटर खण्डमा भने यातायात पुनःसञ्चालनमा आएको छ।

गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) का अनुसार पहिरो प्रभावित क्षेत्रमा जनजीवन सहज बनाउन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरी द्रुत गतिमा काम भइरहेको छ।

सोमबार बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमाना फापरखेतसहित विभिन्न खण्डमा उपकरण परिचालन गरी मर्मतलाई तीव्रता दिन आफू स्थलगत रूपमै खटिएको सांसद जुग्जालीले जानकारी दिए।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी आ-आफ्ना मातहतका सडक तत्काल खुलाउने प्रयास भइरहेको बताए।

मुस्ताङसँग सम्पर्कविच्छेद, स्याउ-च्याङ्ग्रा ढुवानी र पर्यटन प्रभावित
यता, चीनसँगको रणनीतिक व्यापारिक नाका कोरला जोड्ने बेनी-जोमसोम-कोरला सडक भने अझै पूर्ण रूपमा अवरुद्ध छ।

अविरल वर्षापछिको बाढीले तिल्केनीचौर र खामभित्तामा कालीगण्डकी नदीले सडक कटान गरेको छ भने पोखरेबगरस्थित सडक पुलको पहुँचमार्ग समेत बगाएको छ।

सडक विभागसँगको समन्वयमा क्षतिको थप विवरण संकलन गरी मर्मत प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ।

राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङसँगको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। जसका कारण कोरला नाकाबाट हुने आयात-निर्यात ठप्प हुनुका साथै चाडपर्वका लागि मुस्ताङबाट बजार पठाउन लागिएको स्याउ र च्याङ्ग्रा बाटोमै रोकिएका छन्।

यसका साथै, सोह्रश्राद्धका लागि कागबेनीमा पिण्डदान गर्न जाने हिन्दू धर्मावलम्बी र शरद ऋतुको अनुकूल मौसममा भ्रमणमा निस्किएका पर्यटकहरू समेत बाटोमै अलपत्र परेका छन्।

असोज १२, २०८३ सोमबार ०९:०४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।