बाढी-पहिरोले बागलुङमा १० जनाको मृत्यु, बाढी हेर्न जाँदा एक जना बेपत्ता

बाढी-पहिरोले बागलुङमा १० जनाको मृत्यु, बाढी हेर्न जाँदा एक जना बेपत्ता

बागलुङ : अविरल वर्षासँगै आएको बाढी-पहिरो र दुर्घटनामा परी बागलुङमा पछिल्लो दुई दिनमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार मात्रै ९ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। शनिबार पहिरोमा परी एक जनाको ज्यान गएको थियो।

प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार आइतबार तमानखोला गाउँपालिकामा पहिरोले पुरिएर चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। त्यस्तै, निसीखोला गाउँपालिकामा पहिरोमा परी पाँच जनाको ज्यान गएको छ।

यसैबीच, आइतबार साँझ कालीगण्डकी नदीको कटान हेर्ने क्रममा भिरबाट लडेर थप एक जनाको मृत्यु भएको छ।

पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका-४ ढोडेनी क्षेत्रमा नदीले गरेको कटान हेर्न गएका स्थानीय ५५ वर्षीय चित्र गोतामेको ओढारचौरको ढिकबाट लडेर मृत्यु भएको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिए।

असोज १२, २०८३ सोमबार ०८:०८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।