संघीय संसद्का दुवै सदनको बैठक आज, आधा दर्जन विधेयक पेस गरिँदै
काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा बिहान ११ बजे र राष्ट्रियसभा अपराह्न १:१५ बजे बस्ने तय भएको हो।
आजको प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित आधा दर्जन विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्।
त्यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सोही क्षेत्रसम्बन्धी ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ पेस गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ प्रस्तुत गर्नेछन्।
उता, अपराह्न बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।
असोज १२, २०८३ सोमबार ०७:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।