बाढी पहिरोका कारण २१ जनाको मृत्यु, ५ जना बेपत्ता

बाढी पहिरोका कारण २१ जनाको मृत्यु, ५ जना बेपत्ता

काठमाडौं : देशका विभिन्न भागमा हालै गएको बाढी, पहिरो र चट्याङलगायतका विपद्का घटनामा परी २१ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार असोज ८ गतेदेखि लगातारको अविरल वर्षा, हावाहुरी, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको हो।

प्रधानमन्त्री शाहले म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेत लगायतका जिल्लामा मानवीय क्षति भएको पुष्टि गरे।

उनले घटनामा घाइते भएका ५ जनाको सरकारको तर्फबाट निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए।

पूर्वाधारमा ठूलो क्षति, यातायात र विद्युत् सेवा प्रभावित

प्रधानमन्त्री शाहले गाउँदेखि शहरसम्म डुबानमा परेको र दैनिक जीवनसँग जोडिएका सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीमा गम्भीर असर पुगेको बताए।

नारायणी नदीमा बाढीका कारण क्रुजसिप बगेर पुलमा अड्किएपछि सुरक्षा सावधानी अपनाउँदै पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ। यसैगरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकमार्ग र काठमाडौं उपत्यका जोड्ने मार्गसहित देशका दर्जनभन्दा बढी सडकहरू अवरुद्ध भएका छन् भने कालीगण्डकीको पक्की पुल समेत बगेको छ।

बाढीका कारण राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति बन्द भएको छ। ३१८ मेगावाटका आयोजनाका प्रसारण टावर ढलेका कारण पूर्ण रूपमा ठप्प छन् भने जोखिमका कारण ६९५.२ मेगावाट क्षमताका अन्य आयोजनाहरूको उत्पादन पनि बन्द गरिएको छ।

उनले महाकाली, सेती, नारायणी र कमला जस्ता ठूला नदीहरूमा पानीको बहाव उच्च भएकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाइएको र कन्चनपुरको गड्डाचौकीस्थित महाकाली पुलमा सवारीसाधन आवतजावतमा रोक लगाइएको उल्लेख गरेका छन्।

असोज ११, २०८३ आइतबार २३:३६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।