म्याग्दीमा पहिरोमा पुरिएका ३ जनाको शव फेला, फसेका दुई जनाको हेलिकप्टरबाट सकुशल उद्धार

म्याग्दीमा पहिरोमा पुरिएका ३ जनाको शव फेला, फसेका दुई जनाको हेलिकप्टरबाट सकुशल उद्धार

म्याग्दी : निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर म्याग्दीका छुट्टाछुट्टै स्थानमा तीन जनाको मृत्यु भएको छ भने पहिरोमा फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा गएको पहिरोमा पुरिएर ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव फेला परेको छ।

यस्तै बेनी नगरपालिका-३ भकिम्लीको छेपारेमा पहिरोमा पुरिएर ३५ वर्षीया कुमारी वली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए।

यसैबीच, अन्नपूर्ण गाउँपालिका-३ दानाको फगाममा पहिरोका कारण जोखिममा परेका दुई जनालाई नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी उद्धार टोलीले सकुशल बेनी ल्याएको छ। फगाममा पहिरोले स्थानीय गङ्गाबहादुर पाइजाको घर पुरिएको ज्ञानप्रकाश माविका शिक्षक बाबुराम पौडेलले बताए।

यस्तै मालिका गाउँपालिका-३ औँलामा पनि पहिरोमा पुरिएकाहरूको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए। 

सडक र पैदलमार्ग अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा सेनाको हेलिकप्टरमार्फत राहत सामग्री र थप सुरक्षाकर्मी टोली पठाउने तयारी भइरहेको छ। बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाभर सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा विपद् व्यवस्थापन र उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

असोज ११, २०८३ आइतबार १७:११:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।