सञ्चालनमा आएको तीन महिना नपुग्दै उप्कियो आरसीसी सडक, निर्माण गुणस्तरमाथि प्रश्न

सञ्चालनमा आएको तीन महिना नपुग्दै उप्कियो आरसीसी सडक, निर्माण गुणस्तरमाथि प्रश्न

बुटवल : रुपन्देहीको सियारी गाउँपालिका-३ लक्ष्मीपुरमा करिब ३० लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आरसीसी सडक सञ्चालनमा आएको तीन महिना नपुग्दै बिग्रिएको छ।

सडकको माथिल्लो सतह उप्किएर गिट्टी देखिन थालेपछि निर्माणको गुणस्तरमाथि स्थानीयले प्रश्न उठाएका छन्। गाउँपालिकाको बजेटमा काठमाडौंस्थित प्रिमियम कन्स्ट्रक्सनले निर्माण गरेको सडक गत वैशाखको दोस्रो सातातिर सम्पन्न भएको हो।

सडक दुई छुट्टाछुट्टै खण्डमा निर्माण गरिएको छ। एउटा खण्ड ७५ मिटर र अर्को ९० मिटर लामो छ। ९० मिटरको खण्ड सामान्य रहे पनि ७५ मिटर सडक भने विभिन्न स्थानमा क्षतिग्रस्त भएको छ।

क्षतिग्रस्त सडकको सिमेन्टको सतह उप्किएर भित्री भागमा प्रयोग भएको गिट्टी देखिएको छ। केही ठाउँमा सामान्य रूपमा कोट्याउँदा समेत गिट्टी निस्कने अवस्था रहेको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार सडक निर्माणकै क्रममा गुणस्तरबारे प्रश्न उठाइएको थियो। सोमनाथ यादवले निर्माण भइरहेकै बेला स्थानीयले गाउँपालिकालाई सडकको गुणस्तरबारे जानकारी गराएको बताए। रामभरत कुर्मीले सडकका केही भागमा गिट्टी राम्रोसँग नजमेको र निर्माण सकिएको केही समयमै समस्या देखिन थालेको बताए।

स्थानीयले सडकको आधार संरचना, कंक्रिटको गुणस्तर र स्लाबको मोटाइबारे समेत प्रश्न उठाएका थिए। त्यसबेला गाउँपालिकाले गुणस्तर परीक्षण गरेपछि मात्रै अन्तिम भुक्तानी गर्ने बताएको उनीहरूको भनाइ छ। तर, स्थानीयले भने आवश्यक परीक्षण भएको प्रमाण नदेखिएको बताएका छन्।

सुभास कुर्मीले सडक बिग्रनुको वास्तविक कारण पत्ता लगाउन प्राविधिक परीक्षण आवश्यक रहेको बताए। उनका अनुसार मर्मत गर्नुअघि कंक्रिटमा प्रयोग गरिएको सिमेन्ट, बालुवा र गिट्टीको अनुपात, स्लाबको मोटाइ तथा सब-बेस र बेसको अवस्था परीक्षण गरिनुपर्छ।

त्यस्तै, कंक्रिट बिछ्याएपछि आवश्यक क्युरिङ प्रक्रिया पूरा भए-नभएको समेत जाँच गर्नुपर्ने स्थानीयको माग छ। सडक निर्माण भएको करिब दुई महिनापछि मात्रै गाउँपालिकाले निर्माण कम्पनीलाई मर्मतका लागि पत्र पठाएको उनीहरूले बताएका छन्।

सियारी गाउँपालिकाका इन्जिनियर दिलीप भट्टराईले सडकको मर्मत निर्माण कम्पनीले नै गर्ने बताए। उनका अनुसार निर्माण कम्पनीलाई आवश्यक प्रक्रिया पूरा गरेर सडक मर्मत गर्न निर्देशन दिइएको छ।

गाउँपालिकाका अनुसार सडक एम-१५ ग्रेडको आरसीसी कंक्रिटबाट निर्माण गरिएको हो। इन्जिनियर भट्टराईले कंक्रिटको गुणस्तर र मजबुती परीक्षण गरेर मात्रै निर्माण अघि बढाइएको दाबी गरे। तर, स्थानीयले उक्त गुणस्तर परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

स्थानीयले मर्मतपछि समस्या पुनः नदोहोरियोस् भन्नका लागि प्राविधिक परीक्षणबाट सडक बिग्रनुको कारण पहिचान गर्नुपर्ने बताएका छन्।

असोज ११, २०८३ आइतबार १२:२४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।