सल्लेरी वनमा सयौं रुख ढलेसँगै ढुंगा खस्न थालेपछि बस्तीमा त्रास

सल्लेरी वनमा सयौं रुख ढलेसँगै ढुंगा खस्न थालेपछि बस्तीमा त्रास

बुटवल : गुल्मीको चन्द्रकोट गाउँपालिका-३ भुल्केस्थित बार्जिङ सल्लेरी सामुदायिक वनमा ठूलो संख्यामा सल्लाका रुख ढल्न थालेपछि आसपासका बस्ती जोखिममा परेका छन्।

शनिबार दिउँसो २ बजेपछि वन क्षेत्रमा एकपछि अर्को गर्दै सल्लाका रुख ढल्न थालेपछि भुल्के, ठूलटारी र आगाटारीका स्थानीय त्रसित भएका हुन्। रुखसँगै ढुंगा खस्न थालेपछि जोखिममा रहेका करिब ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

चन्द्रकोट-३ का वडाध्यक्ष डिल्लीराज सुवेदीका अनुसार लगातारको वर्षाका कारण जमिन कमजोर बनेपछि रुख ढलेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

"दिउँसो २ बजेपछि मात्रै तीन सयभन्दा बढी सल्लाका रुख ढलेको अनुमान गरेका छौँ," वडाध्यक्ष सुवेदीले भने। रुख ढल्ने र ढुंगा खस्ने क्रम नरोकिएपछि रातिको समयमा थप जोखिम हुनसक्ने भन्दै स्थानीयलाई आफन्तको घरमा आश्रयका लागि पठाइएको हो। 

घटनाका कारण वन क्षेत्रसँग जोडिएका बस्तीमा सतर्कता बढाइएको छ। वन क्षेत्रमा भइरहेको रुख ढल्ने तथा ढुंगा खस्ने क्रमको प्रभाव बागलुङतर्फका बस्तीमा समेत देखिएको छ। बागलुङको बरेङ गाउँपालिकातर्फका करिब ३० देखि ३५ घर जोखिममा रहेको जनाइएको छ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय चन्द्रकोटबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले निरन्तरको वर्षाका कारण पहिरो, रुख ढल्ने र ठूला ढुंगा खस्ने जोखिम बढेकाले स्थानीयलाई सुरक्षित स्थानमा सारिएको बताए।

यस क्षेत्रमा गत बुधबारदेखि हावाहुरीसहित लगातार वर्षा भइरहेको छ। लामो समयदेखि भइरहेको वर्षाका कारण जमिन कमजोर बनेपछि सामुदायिक वन र आसपासका बस्तीमा जोखिम बढेको स्थानीय प्रशासनले जनाएको छ।

असोज ११, २०८३ आइतबार ११:०९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।