पाल्पा र बागलुङमा पहिरो : एकै परिवारका चारसहित ६ जनाको मृत्यु, ३ बेपत्ता

पाल्पा र बागलुङमा पहिरो : एकै परिवारका चारसहित ६ जनाको मृत्यु, ३ बेपत्ता

काठमाडौं : अविरल वर्षाका कारण पाल्पा र बागलुङका विभिन्न स्थानमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्।

बागलुङको निसीखोला गाउँपालिका–३ मा गएको पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा स्थानीय श्यामकुमारी विक र उनका तीन जना छोराहरू मनोज, मुकेश र निसान विक रहेका छन्। पहिरोबाट उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ।

यस्तै, पाल्पाका छुट्टाछुट्टै स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो। उनीहरूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको छ।

यसैगरी, पाल्पाकै माथागढी गाउँपालिका–३ कसेनी भैंसीकट्टामा पहिरोले लिलबहादुर घर्तिमगरको घर  पुरिएको  छ। घर्तीको परिवारका दुई जना र छिमेकीकी एक बालिका गरी तीन जना बेपत्ता भएका छन्। बेपत्ता भएकाहरूको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।

असोज ११, २०८३ आइतबार ११:०३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।