प्रधानमन्त्री कार्यालयको निर्देशनमा मध्यरात पिएसओसहित चोलेन्द्र नियन्त्रणमा, कारण ‘शंकास्पद’ भेटघाट

प्रधानमन्त्री कार्यालयको निर्देशनमा मध्यरात पिएसओसहित चोलेन्द्र नियन्त्रणमा, कारण ‘शंकास्पद’ भेटघाट

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको ठाडो निर्देशनमा पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पिएसओसहित मध्यरात घरबाटै प्रहरीले नियन्त्रणमा लिएको छ।

स्रोतका अनुसार अदालती प्रक्रियामा रहेका विचाराधीन विषयमा चासो राख्दै बुढानीलकण्ठमा रहेको एक रिसोर्टमा निरन्तर शंकास्पद भेटघाटको सूची प्रधानमन्त्री शाहसम्म पुगेपछि शनिबार मध्यरात उनलाई बाँसबारीको घरबाटै नियन्त्रणमा लिइएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली मध्यरात उनको घरमा पुगेर नियन्त्रणमा लिएर कार्यालयमा आएको थियो। उनको सुरक्षामा खटिएका २ पिएसओलाई पनि प्रहरीले साथै ल्याएको थियो।

मध्यरातै कार्यालयका एसएसपी सन्तोष खड्काले राणासँग सोधपुछ गरेका थिए। स्रोतका अनुसार सोधपुछको विषय न्याय क्षेत्र, अदालतमा विचाराधीन मुद्दाका प्रतिवादी र केही राजनीतिक तथा व्यापारी लगायतसँगको भेटघाटको प्रयोजन थियो।

प्रधानमन्त्री शाह प्रमुख सल्लाहकारसहित युएन महासभामा सहभागी हुन गएको बेलामा चोलेन्द्रले गरेका केही भेटघाट निकै संवेदनशील रहेकोबारे प्रधानमन्त्री शाह र उनको प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारले नेपाल फर्किएपछि शनिबार थाहा पाएका थिए।

राणाको गतिविधिबारे पहिला पनि प्रधानमन्त्री टिममा शंकास्पद सूचना पुगेका थिए। राष्ट्रिय अनुसन्धान विभागबाट आएको सूचना थप संवेदनशील देखिएपछि प्रधानमन्त्री शाह आफैले राणालाई पक्राउ गर्न निर्देशन दिएका थिए।

तर उनलाई पक्राउ पुर्जी दिइएको छैन। कुनै आरोपमा म्याद थप गर्ने/नगर्ने निर्णयसमेत नभएको स्रोतले उकेरालाई बतायो।

राणाविरुद्ध आरोपै लगाएर अनुसन्धान गर्न सकिने तहको प्रमाण नदेखिएको स्रोतले बतायो। केही महिना अगाडि प्रधानमन्त्री  शाहलाई एसएमएस गरेको भन्दै प्रहरीले बहालवाला सचिवलाई यसरी नै घरबाट नियन्त्रणमा लिएर सोधपुछपछि छाडेको थियो। राणाको पक्राउको कारण असुरक्षित देखिएकाले सुरक्षा दिन ल्याएको प्रहरीको दाबी छ।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले पूर्व प्रधानन्यायाधीशलाई सुरक्षाका लागि प्रहरीले अपराध अनुसन्धान कार्यालयमा सुरक्षित साथ राखेको दाबी गरे।

"उहाँलाई असुरक्षा देखेर सुरक्षा दिएको हो पक्राउ गरिएको हैन," उनले भने।

असोज ११, २०८३ आइतबार १३:२२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।