एआइआइबी बैठकमा सहभागी हुन कतार उडे अर्थमन्त्री वाग्ले
काठमाडौं : अर्थमन्त्री डा स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी विकास बैंक (एआइआइबी)को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार उडेका छन्।
बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वाग्ले शनिबार साँझ कतारको राजधानी दोहा गएका हुन्। उनीसँग अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, सहसचिव अमृत लम्साल पनि छन्।
एघारौं वार्षिक बैठकका क्रममा उनले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धिका प्राथमिकतामा बहुपक्षीय सहयोग तथा लगानी परिचालनबारे छलफल गर्ने वाग्लेको निजी सचिवालयले जनाएको छ।
भ्रमणका क्रममा अर्थमन्त्रीको उपस्थितिमा एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्षसँगै भारत, बङ्गलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नेछन्।
वार्षिक बैठक तथा निर्धारित द्विपक्षीय संवादहरू सम्पन्न गरी अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आगामी २०८३ असोज १४ गते कतार एयरवेजको उडानमार्फत स्वदेश फिर्ता हुने छन्।
असोज १०, २०८३ शनिबार २०:५३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।