बाढी र पहिरोले बागलुङमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध, यात्रा नगर्न आग्रह

बाढी र पहिरोले बागलुङमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध, यात्रा नगर्न आग्रह

बागलुङ : लगातारको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले बागलुङ जिल्ला भएर जाने दुई प्रमुख राष्ट्रिय राजमार्ग शुक्रबार साँझदेखि पूर्ण रूपमा अवरुद्ध भएका छन्।

बाढी तथा पहिरोका कारण  मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएका हुन्।

कालीगण्डकी करिडोर बागलुङ खण्डको जैमिनी नगरपालिका र मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको निसोखोला गाउँपालिकामा अवरुद्ध भएको छ। अविरल वर्षाका कारण जैमिनी नगरपालिका–८ छिस्ती बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक ठप्प भएको हो। 

यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बुर्तिवाङ–निसीखोला खण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आउँदा मध्यपहाडी लोकमार्ग अवरूद्व बनेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तथा प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तथा प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना र कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको छ।

तर, निरन्तर पानी परिरहेका कारण तत्काल पहिरो र बाढी पन्छाएर बाटो खुलाउन समस्या भइरहेको छ। मौसम प्रतिकूल रहेकाले उक्त क्षेत्रमा सकभर यात्रा नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

असोज १०, २०८३ शनिबार १८:२१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।