राष्ट्रसंघको महासभामा जलवायु सङ्कटको मुद्दा उठाएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

राष्ट्रसंघको महासभामा जलवायु सङ्कटको मुद्दा उठाएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह शनिबार स्वदेश फर्किएका छन्। भ्रमणको क्रममा महासभालाई सम्बोधन तथा केही उच्चस्तरीय भेटवार्ता गरेका शाह शनिबार बेलुका ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी मंगलबार (असोज ६ ) कतार एयरवेजको उडानमार्फत अमेरिका प्रस्थान गरेका थिए। शाहले शुक्रबार बिहान राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेका थिए। उनको भ्रमणबारे शनिबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी गरायो।

परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले महासभामा प्रधानमन्त्री शाहले भोटेकोसीमा आएको विनाशकारी बाढीलाई जलवायु सङ्कटको गम्भीर प्रभाव र विश्व समुदायका लागि चेतावनीको रूपमा प्रस्तुत गरेका जानकारी गराए।

नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरेता पनि जलवायु परिवर्तनका गम्भीर र असमान असरहरू भोगिरहेको विषयमा विश्वको ध्यानाकर्षण गराइएको थियो।

हिमनदी र पर्माफ्रोस्ट पग्लिँदै जाँदा हिमपहिरो, बाढी तथा पहिरोको जोखिम बढेको औँल्याउँदै शाहले जोखिमपूर्ण हिमतालहरूको निगरानी, पूर्व सूचना प्रणालीको सुदृढीकरण तथा सीमापार समन्वयका लागि 'हिमालयन क्लाइमेट रेसिलेन्स मेकानिजम' स्थापना गर्न प्रस्ताव अघि सारे।

जलवायु सङ्कट निम्त्याउन बढी भूमिका खेल्दै आएका सक्षम मुलुकहरूले जलवायु सङ्कटलाई सम्बोधन गर्न थप जिम्मेवारी लिनुपर्ने, लस एण्ड ड्यामेज फण्ड लगायतका जलवायु वित्तीय संयन्त्रबाट स्रोत परिचालन सहज बनाउनुपर्ने र विपद्पछिको पुनर्निर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग उपलब्ध गराइनुपर्ने विषयमा नेपालले जोड दिएको ढकालले जानकारी दिए। 

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गरेका थिए। ढकालका अनुसार नदी किनारका बासिन्दाको पुनर्वास, हरित पुनर्निर्माण तथा अति कम विकसित राष्ट्र (एलडीसी) सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्ने विषयमा समर्थन जुटाउने विषयमा उनीहरूबिच छलफल भएको थियो।

त्यस्तै, प्रधानमन्त्री शाहले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग पनि भेटवार्ता गरी द्विपक्षीय हितका विषयमा कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  महासभाका क्रममा आयोजित असंलग्न आन्दोलन, जी-७७ तथा चीन, अतिकम विकसित मुलुकहरू (एलडीसी) र भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू (एलएलडीसी) का मन्त्रीस्तरीय बैठक तथा साइड इभेन्टहरूमा परराष्ट्र मन्त्री शिशिर खनालले सहभागिता जनाउँदै सम्बोधन गरेको मन्त्रालयले जनाएको छ। 

असोज १०, २०८३ शनिबार १७:१४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।