नारायणी नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
चितवन : बिहीबारदेखि लगातार भइरहेको वर्षाका कारण नारायणी नदीमा पानीको सतह बढेर सतर्कता तह पार गरेको छ। नारायणी बेसिन कार्यालय, चितवनका अनुसार नदीको जलसतह ८.३० मिटर पुगेको छ।
नारायणी नदीमा ७.३० मिटरलाई सतर्कता तह र ९ मिटरलाई खतराको तह मानिन्छ। बेसिन कार्यालयका प्रमुख सुमित अधिकारीले नदीको बहाव निरन्तर बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको बताए।
अहिलेसम्म नदी किनारका बस्तीहरूमा पानी पसिनसकेको भए पनि पुनः वर्षा भएमा नदीले खतराको तह पार गरी ठूलो बाढी आउने जोखिम रहेको प्रमुख अधिकारीले बताए।
उनले भने “अब फेरि वर्षात भएमा ठूलो बाढीको सम्भावना छ।”
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सुरक्षीत स्थानमा बस्नका लागि आग्रह गरिएको बताए। उनका अनुसार संभावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायहरूलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको छ। हाल जोखिम क्षेत्रमा पूर्वसूचना प्रवाह गर्ने र पूर्वतयारीका कार्यहरू तीव्र पारिएको छ।
असोज १०, २०८३ शनिबार १७:१२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।