खोलाले बगाउँदा रुकुम पश्चिममा एक महिलाको मृत्यु
रुकुम पश्चिम : रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मुसिकोट नगरपालिका–११, स्याउलीबारकी बेगमाया दमाई रहेकी छन्। लहुँबाट सिम्रुतु खोला तरेर स्याउलीबजारतर्फ जाने क्रममा उनलाई खोलाले बगाएको थियो।
खोलाले करिब २० देखि २५ मिटरसम्म बगाएपछि प्रहरी र स्थानीयवासीले उनलाई अचेत अवस्थामा उद्धार गरेका थिए। उद्धार गरेलगत्तै उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाबारे पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले उद्धार गरिए पनि अस्पताल पुर्याउँदा नै महिलाको मृत्यु भइसकेको जानकारी दिएका छन्।
असोज १०, २०८३ शनिबार १६:४०:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।