९० वर्षीय बाबुले कुरिरहे छोरा-बुहारीको फोन, बूढीखोलामा जल्यो कुशको शव
इटहरी : इटहरी-२० तरहरास्थित खड्का परिवारमा पछिल्लो एक महिनायता जब-जब मोबाइलको घण्टी बज्थ्यो, सबैको मुटु एकपटक ढुकढुक हुन्थ्यो। मनमा एउटै आशा पलाउँथ्यो- ‘कतै बुवा-आमाकै फोन त आएन ?’
रसुवाबाट सम्पर्कविहीन भएका अम्बरकाजी खड्का र उनकी पत्नी मनकुमारी कुनै न कुनै दिन सकुशल घर फर्किनेछन् भन्ने झिनो आशा परिवारलाई थियो। तर, दिनहरू बित्दै महिना दिन पुग्यो; न फोनको घण्टी बज्यो, न त कुनै शुभ खबर नै आयो।
अन्ततः शुक्रबार त्यो एक महिना लामो छटपटी र प्रतीक्षापछि परिवारले उनीहरू फर्किने आशा त्याग्दै इटहरीको बूढीखोला किनारमा कुशको शव बनाएर परम्परागत विधिअनुसार अन्त्येष्टि गर्यो।
त्यो अन्तिम भिडियो कल
कैलाश मानसरोवरको दर्शन गर्ने लामो समयदेखिको धोको बोकेर खड्का दम्पती घरबाट यात्रामा निस्किएका थिए। यात्राका क्रममा उनीहरू नियमित परिवारको सम्पर्कमै थिए।
रसुवा पुगेपछि अम्बरकाजीले कान्छा छोरा सुवास, जेठा छोरा सञ्जय र ९० वर्षीय वृद्ध बुवा चन्द्रबहादुरसँग ह्वाट्सएपमा भिडियो कल गरेका थिए।
गाडीको झ्यालबाट बाहिरका हिमाली दृश्यहरू देखाउँदै उनले यात्राको उत्साह र खुसी परिवारसँग साटेका थिए। तर, ९० वर्षीय बाबु र छोराहरूसँग हाँसो साट्दै गरिएको त्यही भिडियो कल नै उनीहरूको जीवनको अन्तिम संवाद बन्न पुग्यो।
चीन सीमा नजिकै रसुवा अध्यागमन तथा भन्सार कार्यालय आसपास पुगेपछि अचानक उनीहरूको फोन सम्पर्क विच्छेद भयो।
सुरुमा परिवारले हिमाली भेगको कमजोर नेटवर्कका कारण सम्पर्क नभएको ठाने। केही बेरमा फोन आउला कि भन्दाभन्दै दिनहरू बिते। भोटेकोशीको बाढीले सीमा क्षेत्र तहसनहस पारेको खबरसँगै परिवारको छटपटी बढ्यो।
खोजीका लागि स्थानीय तह र प्रशासनसँग निरन्तर समन्वय गरियो, तर खड्का दम्पतीको कुनै पत्तो लागेन। स्थानीय राजन कट्वालका अनुसार उनीहरू भन्सार क्षेत्रमै आएको भीषण बाढीको चपेटामा परेको अनुमान गरिएको छ।
अन्ततः बूढीखोलामा कुशको दाहसंस्कार
एक महिनासम्म जीवितै भेटिने वा कम्तीमा शव फेला पर्ने प्रतीक्षा गर्दा पनि कुनै खबर नआएपछि परिवारले धार्मिक विधिअनुसार अगाडि बढ्ने निर्णय गर्यो।
“हामीले एक महिनासम्म बाटो हेर्यौँ, कुनै खबर आएन। त्यसपछि मन बुझाएर धार्मिक विधि पुर्याएका हौँ”, परिवारका एक सदस्यले भने।

शुक्रबार बूढीखोला किनारमा खड्का दम्पतीको कुशको प्रतीक बनाएर दागबत्ती दिइरहँदा उपस्थित आफन्त र छिमेकीहरू स्तब्ध थिए।
इटहरी-२० का वडाध्यक्ष मणिराम श्रेष्ठले घटनाले सिङ्गो गाउँ शोकमग्न भएको बताउँदै स्थानीयस्तरबाट खोजीका सबै प्रयास गरिए पनि अन्ततः यस्तो अप्रिय सत्य स्वीकार्नुपरेको बताए।
धर्मशास्त्रका जानकार ज्योतिष डा. कमल दाहालका अनुसार प्राकृतिक विपद्मा परेर शव फेला नपरेको अवस्थामा निश्चित समयपछि कुशको प्रतीक बनाई दागबत्ती दिने र काजक्रिया गर्ने शास्त्रीय परम्परा छ। सोही विधानअनुसार खड्का दम्पतीको अन्तिम संस्कार सम्पन्न गरिएको हो।
असोज १०, २०८३ शनिबार १२:०६:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।