वर्षा रोकिएको होइन, ‘विश्राम’ मात्र लिएको हो : चार प्रदेशमा ‘धेरै भारी’ वर्षा र हावाहुरीको चेतावनी

वर्षा रोकिएको होइन, ‘विश्राम’ मात्र लिएको हो : चार प्रदेशमा ‘धेरै भारी’ वर्षा र हावाहुरीको चेतावनी

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका केही भूभागमा वर्षा रोकिएर मौसम केही खुले जस्तो देखिए पनि जोखिम अझै टरेको छैन।

जल तथा मौसम विज्ञान विभाग र मौसमविद्हरूका अनुसार यो वर्षा रोकिएको नभई केही बेरका लागि ‘विश्राम’ मात्र लिएको हो। आज दिउँसोदेखि रातिसम्म गण्डकीदेखि सुदूरपश्चिमसम्म ‘धेरै भारी’ वर्षा र काठमाडौंमा समेत मेघगर्जनसहित भारी वर्षाको सम्भावना कायमै छ।

मौसमविद् विनोद पोखरेलका अनुसार काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा वर्षाले केही समयका लागि मात्र आराम गरेको हो।

सामाजिक सञ्जालमार्फत सतर्क गराउँदै उनले लेखेका छन्, ‘गण्डकीदेखि सुदूरपश्चिमसम्म अझै ठूलो पानी पर्न बाँकी नै छ, दिउँसोदेखि रातभर वर्षा हुने देखिन्छ। काठमाडौंमा पनि अपराह्नदेखि भोलि बिहानसम्म मेघगर्जनसहित केही समय भारी वर्षा हुन सक्छ।’

यद्यपि, भोलि भने देशका धेरै ठाउँमा केही समयका लागि घाम देखिन सक्ने उनले बताएका छन्।

चार प्रदेशमा ‘धेरै भारी’ वर्षा र हावाहुरीको जोखिम
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भारतको उत्तर छत्तीसगढ तथा मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली (डिप्रेशन) उत्तर-पश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको हो।

महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार आज दिउँसो र राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ‘भारीदेखि धेरै भारी’ वर्षाको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ।

यसैगरी मधेश प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग तथा पहाडी उपत्यका र खोँचहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ।

उच्च सतर्कता अपनाउन महाशाखाको अपिल
भारी वर्षा र हावाहुरीका कारण पहाडी भेगमा पहिरो, गेग्रान बहाव तथा तराई र नदी तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेको छ। महाशाखाले हवाई तथा सडक यातायात, कृषि, पर्यटन, पर्वतारोहण र विपद् उद्धार कार्यसमेत प्रभावित हुनसक्ने चेतावनी दिएको छ।

प्रकोपको जोखिमबाट बच्न नदी किनार, भिरालो जमिन र जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्लो सूचनामा निरन्तर अद्यावधिक रहन महाशाखाले विशेष अनुरोध गरेको छ।

असोज १०, २०८३ शनिबार ०९:४६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।