हुम्लाका उच्च हिमाली भेगमा वर्षकै पहिलो हिमपात
हुम्ला : भारतको उत्तर छत्तीसगढ तथा उत्तर पूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणालीकाम कारण हिमाली जिल्ला हुम्लाको उत्तरी भेगस्थित नाम्खा गाउँपालिकाको हिल्सा, न्यालुलगायत उच्च हिमाली क्षेत्रमा यस वर्षकै पहिलो हिमपात भएको छ।
शुक्रबार बिहानदेखिको वर्षापछि साँझबाट सुरु भएको हिमपात शनिबार पनि जारी रहेको छ।
चीनसँगको सीमानाका हिल्सामा करिब एक फिट हिउँ जमेको छ। हिमपातका कारण स्थानीयवासी तथा यात्रुलाई आवतजावत गर्न कठिनाइ भएको स्थानीय व्यवसायी लामु लामाले बताए।
५ हजार मिटरभन्दा अग्ला क्षेत्रमा हिउँ परेपछि उत्तरी हुम्लामा अत्यधिक चिसो बढेको यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले जानकारी दिए।
हिल्सा र न्यालुबाहेक सदरमुकाम सिमकोट आसपासका बोक्सी, पञ्चमुखी, रलिङ र चाङ्ला हिमाल क्षेत्रमा समेत बाक्लो हिमपात भएको छ।
हुम्लामा गत वर्ष असोज २४ गते पहिलो हिमपात भएकोमा यस वर्ष दुई साताअगावै हिउँ परेको हो।
लगातारको वर्षा र हिमपातका कारण चिसो बढे पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
असोज १०, २०८३ शनिबार ०९:२८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।