खुम्बु क्षेत्रमा भारी हिमपात : सात विदेशी पर्यटकको उद्धार, पदयात्रामा रोक

खुम्बु क्षेत्रमा भारी हिमपात : सात विदेशी पर्यटकको उद्धार, पदयात्रामा रोक
फाइल तस्बिर

सोलुखुम्बु : खुम्बु क्षेत्रमा भएको भारी हिमपातका कारण पदयात्रा तथा पर्वतारोहण प्रभावित भएको छ।

हिमपातपछि इम्जा छे (आइल्यान्ड पिक) क्षेत्रमा अलपत्र परेका सात विदेशी पर्यटकको उद्धार गरिएको छ भने जोखिमयुक्त माथिल्लो क्षेत्रतर्फको आवागमनमा रोक लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार उद्धार गरिएका पर्यटक चिनियाँ मूलका युरोपेली नागरिक हुन्।

६ हजार १६५ मिटर उचाइमा रहेको आइल्यान्ड पिक आरोहणका क्रममा हिउँमा फसेका उनीहरूलाई स्थानीय जनप्रतिनिधि र बासिन्दाको सहयोगमा सुरक्षित स्थानमा ल्याइएको हो।

उच्च हिमाली क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमेको छ। हिमपातका कारण थुक्ला, थोरकसेप, गोक्योलगायतका पदमार्ग अवरुद्ध भएका छन्।

प्रशासनका अनुसार हाल सगरमाथा क्षेत्रमा १ हजार २०० भन्दा बढी पर्यटक रहेका छन्। उनीहरूको सुरक्षा अवस्थाबारे स्थानीय तह र प्रहरीमार्फत निरन्तर निगरानी भइरहेको छ।

मौसम प्रतिकूल बनेपछि स्थानीय प्रशासन र खुम्बु पासाङल्हामु गाउँपालिकाले पदयात्री, पर्वतारोही, गाइड तथा भरियालाई मौसम नसुध्रिएसम्म माथिल्लो क्षेत्रतर्फ नजान र सुरक्षित स्थानमै बस्न आग्रह गरेका छन्।

गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै सावधानी अपनाउन सूचना जारी गरिएको बताए।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धार तथा सुरक्षाका लागि स्थानीय प्रशासन, प्रहरी र विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

असोज १०, २०८३ शनिबार ०७:१९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।