टनेलबाट उद्धार भएका कबिर घर फर्किए, भन्छन् "बाढी आएको फोन आएको थियो, तर भाग्नै भ्याइएन"
काठमाडौं : भदौ १० को भोटेकोशी बाढीमा रसुवास्थित माथिल्लो त्रिशूली ३–ए जलविद्युत् आयोजनाको सुरुङमा फसेर १० दिनपछि जीवितै उद्धार गरिएका कबिर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन्। सैनिक अस्पतालमा रहेका उनी शुक्रवार डिस्चार्ज भएका हुन्।
मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेका उनी बाढीको सूचना आए पनि भाग्ने प्रयास गरे पनि भाग्न नभ्याएको बताए। डिस्चार्जपछि घरमा कृति अनलाइनसँग कुरा गर्दै उनले भने "बाढी आयो भनेर फोन आएको थियो। तर त्यत्रो ठूलो बाढी आएको विश्वासै भएन।"
टनेल भित्र फस्दा अर्का सञ्जय शाह मात्र रहेको र सुरुङभित्र हिलो र पानी हुँदा कुन दिन हो अनि कुन रात हो केही थाहा नभएको उनले खुलाएका छन्। भित्र रहँदा कतै फसेको अनुभव भएको तर टनेल भित्र छु भन्ने थाहै नभएको उनले बताए।
"होसमा आउने, फेरी निदाउने भइरहेको थियो। एक्कासि कतै बत्ती बलेको जस्तो देखेँ। तर भ्रम हो कि जस्तो लागे पनि कराएँ। त्यसपछि को हो भनेर सोधेपछि म हुँ भने," उद्धारको दिन सम्झँदै उनले कृति अनलाइनसँग भनेका छन् " तल झर्न भन्नुभयो तर मसँग तागत थिएन। उहाँहरूले जुस दिनु भयो। त्यो खाएपछि कोल्टे फर्किएर निस्किएँ।"
उनीसँगै सुरुङबाट सकुशल उद्धार गरिएका सञ्जय शाह गत शुक्रवार नै डिस्चार्ज भइसकेका छन्।
असोज ९, २०८३ शुक्रबार २१:१७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।