१९ वर्षअघि भएको दुई युवाको हत्या प्रकरणमा मुख्य अभियुक्त देखिए जेल सजाय भोगिरहेका यादव

१९ वर्षअघि भएको दुई युवाको हत्या प्रकरणमा मुख्य अभियुक्त देखिए जेल सजाय भोगिरहेका यादव
एआईको सहयोगमा बनाइएको तस्बिर।

रौतहट : अपहरण, शरीर बन्धक तथा सङ्गठित अपराधलगायतका मुद्दामा दोषी ठहर भई हाल जिल्ला कारागार रौतहटमा जेल सजाय भोगिरहेका ‘बारुद सिंह’ भनिने सुरेन्द्रप्रसाद यादवको स्थानीय दुई युवा हत्या प्रकरणमा सक्रियता देखिएको छ।

गरुडा नगरपालिका-७ का ३२ वर्षीय नागेन्द्र बैठा र वडा नं २ का २८ वर्षीय प्रमानन्द सहनीको २०६४ साल वैशाख ३१ गते राति १ बजे गढीमाई नगरपालिका-६ पिपरिया दोसतिया भन्ने स्थानमा गोली हानी हत्या भएको घटनामा निज यादव संलग्न देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार अज्ञात व्यक्ति वा समूहले चलाएको गोलीबाट मृत्यु भएका बैठा र सहनीसम्बद्ध घटनाको छानबिन तथा अनुसन्धानका क्रममा तत्कालीन समयमा तराई जनतान्त्रिक मुक्ति मोर्चालगायत भूमिगत सङ्गठनमा आबद्ध यादव मुख्य अभियुक्तका रूपमा देखिएका हुन्।

गढीमाई नगरपालिकामा १९ वर्षअघि दुई युवाको हत्या भएको घटनाको अनुसन्धानपछि कर्तव्य ज्यान मुद्दाको मुख्य अभियुक्तका रूपमा निज यादवको पहिचान भएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले स्पष्ट गरेको छ।

यसैबीच, बारा जिल्ला सिम्रौनगढ नगरपालिका-११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव रौतहटको मौलापुर नगरपालिका-४ स्थित लालबकैया पुलबाट खोलामा हामफालेर बेपत्ता भएका छन्।

प्रहरी नायब उपरीक्षक गौतमका अनुसार मानसिक समस्याबाट पीडित यादव उपचारका लागि गरुडातर्फ गइरहेको अवस्थामा मोटरसाइकलबाट ओर्लेर लालबकैया पुलबाट दिउँसो १ बजे खोलामा हामफाली बेपत्ता भएका हुन्। सो घटनाको जानकारी हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको तर्फबाट खोज तथा उद्धार कार्य जारी रहेको छ।

गोताखोरसहित सशस्त्र प्रहरी बलको टोलीसमेत बेपत्ता युवाको उद्धार तथा खोज कार्यमा संलग्न भए पनि लालबकैया खोलामा पानीको बहाव बढेकाले उद्धारमा संलग्न टोलीलाई कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय मौलापुर रौतहटबाट करिब तीन किलोमिटर पूर्वमा रहेको छ। 

असोज ९, २०८३ शुक्रबार १८:०६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।