बाढीले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा मन्त्री लम्सालले मागे चिनियाँ सहयोग

बाढीले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा मन्त्री लम्सालले मागे चिनियाँ सहयोग

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा सहयोग गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चीन सरकारसँग आग्रह गरेका छन्।

शुक्रबार सिंहदरबारमा नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग भएको भेटवार्ताको क्रममा लम्सालले बाढीपछि अहिले बन्द अवस्थामा रहेको चीनसँग सीमाना जोडिएका प्रमुख व्यापारिक नाका रसुवागढीको पुनः सञ्चालन र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकासमा सहयोग गर्न आग्रह गरे। 

करिब ६ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावत र कोरला तथा तातोपानी नाकाको प्रभावकारी सञ्चालनलगायत विषयमा चीन सरकारबाट आवश्यक सहयोगका लागि अपेक्षा राखेको उनको भनाइ थियो। 

बाढीले क्षतिग्रस्त पुरानै स्थानबाट तत्कालका लागि अस्थायी सडक तथा यातायातको व्यवस्था मिलाएर स्थानीय नागरिकलाई राहत दिन सरकारले काम गरिरहेको उनले बताए। स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन सहयोग आवश्यकता रहेको उनले बताए। 

लम्सालले काठमाडौं रसुवागढी केरुङ नाकासम्मको दीर्घकालीन सडक पूर्वाधार विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आवश्यक स्थानमा ट्रयाक खोल्ने कार्यमा समेत सरकार अघि बढेको जानकारी गराए। उनले सो कार्यमा चीन सरकारको सहयोग र समन्वयका लागि आग्रह गरे।

भेटका क्रममा चिनियाँ राजदूत वाङ माओमिङले चीन नेपालका असल मित्र तथा छिमेकीका रूपमा नेपाललाई हरसम्भव सहयोग गर्न तयार रहेको बताए। उनले नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखे।

कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको जानकारी दिँदै राजदूत वाङले रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका सम्बन्धमा नेपाल सरकारले विशेष प्रस्ताव पठाएमा आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

असोज ९, २०८३ शुक्रबार १६:०४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।