लगातारको वर्षाले उपत्यकाका नदीहरूमा बढ्यो पानीको बहाव
काठमाडौं : लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र मनोहरालगायत नदीहरूमा पानीको बहाव बढेको छ।
बागमती नदीले थापाथली क्षेत्रमा सतर्कता तह पार गरेको छ भने ललितपुरको च्यासलस्थित बस्ती तथा एमालेको केन्द्रीय कार्यालय डुबानको जोखिममा परेको छ।
त्यस्तै बल्खुको तरकारी बजार बाढीको जोखिममा परेको छ भने चोभारको जलविनायकमा बागमती नदीमा पानीको बहाव उच्च भएको छ। भक्तपुरको मध्यपुर ठिमी हुँदै बग्ने हनुमन्ते खोलाको बहाव बढेपछि जोखिममा देखिएका परिवारलाई सुरक्षित स्थानमा सारिँदै छ।

जलसतह निरन्तर बढ्दै गएपछि सुरक्षा निकायले तटीय तथा करिडोर क्षेत्रमा उच्च निगरानी बढाएका छन्। सुरक्षा निकायले तटीय क्षेत्रमा माइकिङ गरेर स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। वर्षा जारी रहेकाले जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै नदी किनार आसपास नजान र सतर्कता अपनाउन अनुरोध गरिएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत सुरक्षा निकायले संयुक्त रूपमा नदी तटीय क्षेत्रको अनुगमन गरिरहेका छन्। एसपी सुवेदीले करिडोर क्षेत्रमा पार्किङ गरी राखिएका सवारीसाधन हटाउन आग्रह गरिएको र आवश्यकताअनुसार हटाउने काम भइरहेको बताए।

बागमती र विष्णुमती करिडोर सडक प्रयोग गर्दा सावधानी अपनाउन तथा सम्भव भएसम्म ती सडक प्रयोग नगर्न सर्वसाधारणलाई उनले अनुरोध गरे। हाल काठमाडौं उपत्यकाभित्रको सवारी आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको छन्।
असोज ९, २०८३ शुक्रबार १४:४९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।