अविरल वर्षाले देशका प्रमुख राजमार्गहरू ठप्प, विभिन्न जिल्लामा रात्रिकालीन आवागमनमा रोक
काठमाडौं : अविरल वर्षाका कारण देशका प्रमुख राजमार्गहरू पहिरोले अवरुद्ध भएका छन् भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाइएको छ।
नेपाल प्रहरीका अनुसार धादिङको कृष्णभीर, टिङराङखानी र परेवाभीरमा ठूला ढुङ्गासहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको छ।
यस्तै, निरन्तर पहिरो खसिरहेकाले चितवनको नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा बन्द गरिएको छ।
काभ्रेको रोशी गाउँपालिकास्थित चारसयबेँसी र गिम्दीबेँसीमा पहिरो जाँदा बीपी राजमार्ग ठप्प छ। त्रिशूली नदीले सडक कटान गरेपछि रसुवागढी नाका जोड्ने पासाङल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, ओखलढुङ्गाको भँडारे खोलामा लेदोसहितको बाढी आउँदा सिद्धिचरण लोकमार्ग र मनाङको खोत्रोमा पहिरो खस्दा चामे-बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ।
रात्रिकालीन आवागमनमा रोक लगाइएका क्षेत्रहरू
विपद्को जोखिमलाई ध्यानमा राखी सम्बन्धित जिल्ला प्रशासन र प्रहरीले विभिन्न सडकमा निश्चित समय तोकेर सवारी आवागमन रोकेका छन्।
काठमाडौँ उपत्यका र बागमती: बीपी राजमार्ग (काभ्रे र सिन्धुली खण्ड) तथा अरनिको राजमार्गमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ। धादिङ र दोलखाका सडकहरूमा राति ८ देखि बिहान ५ बजेसम्म तथा नुवाकोटको टोखा-छहरे खण्डमा राति १० देखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ। कान्ति राजपथमा भने बिहान ५ देखि बेलुका ५ बजेसम्म (दिउँसो मात्र) सवारी चलाउन दिइएको छ।
कोशी प्रदेश: सोलुखुम्बु र भोजपुरका ग्रामीण तथा सहायक सडकहरूमा साँझ ६ देखि बिहान ६ बजेसम्म आवागमन रोकिएको छ। भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा साँझ ७ देखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारीमा रोक छ।
गण्डकी र लुम्बिनी प्रदेश: दाङका राप्ती राजमार्ग, सहिद मार्गलगायतका सडकहरूमा साँझ ५ देखि बिहान ६ बजेसम्म, रोल्पाको माडीचौर क्षेत्रमा असोज १२ सम्म तथा मनाङको बेँसीसहर-खाङसार खण्डमा साँझ ६ देखि बिहान ६ बजेसम्म आवागमन बन्द गरिएको छ।
प्रहरीले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न र यात्रा गर्नै परे सडकको पछिल्लो अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ।
असोज ९, २०८३ शुक्रबार १४:३०:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।