तिनाउ नदीमा पानीको सतह बढ्दो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
बुटवल : रुपन्देहीको तिनाउ नदीमा पानीको बहाव बढ्दै गएपछि नदीले सतर्कताको तह पार गरेको छ।
लगातार वर्षा भइरहेकाले जलसतह अझै बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार तिनाउ नदीको तटीय क्षेत्र तथा विगतमा डुबानको जोखिममा पर्ने होचा भूभागमा रहेका नागरिक थप जोखिममा पर्न सक्ने भएकाले विशेष सावधानी आवश्यक छ।

नदीमा पानीको बहाव थप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आइतबार बिहानसम्म तिनाउ आसपासका क्षेत्रमा बसोबास गर्ने तथा सो क्षेत्रमा आवतजावत गर्ने नागरिकलाई सतर्क रहन र जोखिमयुक्त स्थानमा नजान महाशाखाले अनुरोध गरेको छ।

असोज ९, २०८३ शुक्रबार १४:२०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।