भोटेकोशी बाढीको एक महिना : खोज र राहत जारी, पुनर्निर्माणमा चुनौती

भोटेकोशी बाढीको एक महिना : खोज र राहत जारी, पुनर्निर्माणमा चुनौती

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको एक महिना पुग्दा पनि प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरणको कार्य जारी छ।

गत भदौ १० गते बिहान आएको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा अकल्पनीय मानवीय तथा भौतिक क्षति पुर्याएको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीमा परी हालसम्म १ हजार ४५३ जनाको मृत्यु भएको छ भने ५ हजार ५५० जना अझै बेपत्ता छन्।

जोखिममा परेका १३ हजार ७९५ जनाको जीवितै उद्धार गरिएको छ। प्रभावितहरूको खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २० हजार ४७७ सुरक्षाकर्मी अहोरात्र खटिएका छन्।

४ खर्बभन्दा बढीको क्षति, पुनर्निर्माणमा ७ खर्ब आवश्यक
विपद्को ‘द्रुत क्षति तथा आवश्यकता आकलन’ (आरडिएनए) प्रतिवेदन अनुसार बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।

क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं पुनस्र्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान छ।

बाढीबाट ७ हजार ५७० निजी घर क्षतिग्रस्त हुँदा ८ हजार ३०० परिवारका करिब ४० हजार मानिस प्रभावित भएका छन्। यसबाहेक ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ।

भौतिक पूर्वाधारतर्फ ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना, २४ मेगावाटका ५ सौर्य ऊर्जा प्लान्ट, ६९ किलोमिटर सडकखण्ड, ३३ पक्की पुल र ६८ झोलुङ्गे पुल बाढीले बगाएको छ। उत्पादन क्षेत्रतर्फ १ हजार ८०६ हेक्टर कृषि बाली, १७ बैंक शाखा र ४ हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्।

राहत र मानवीय सहायतामा रेडक्रस
विपद्लगत्तै रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) ले आपत्कालीन सहयोग कोष (ड्रिफ) मार्फत १२ लाख अमेरिकी डलर परिचालन गरेको छ।

आइएफआरसीका महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले स्रोतको द्रुत परिचालनले थप मानवीय क्षति रोक्न मद्दत पुगेको बताए।

उनले भने, ‘संकटको घडीमा राज्य र रेडक्रस उपस्थित छन् भन्ने अनुभूति समुदायलाई दिलाउन सकियो । यो प्रतिकार्य ‘जलवायु संवेदनशील मानवीय प्रतिकार्य’ को महत्वपूर्ण नमुना बन्न सक्छ।’

यसैगरी, नेपाल रेडक्रस सोसाइटीले जिल्ला शाखाहरू र स्वयंसेवक परिचालन गरी खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ।

महामन्त्री ऋषिरमण खनालका अनुसार हालसम्म १ हजार २१८ सेट गैरखाद्य सामग्री, ५६३ थान त्रिपाल, १ हजार ३२४ थान कम्बल र करिब २ हजार परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ।

त्यस्तै, बाढी प्रभावित २ हजार २०० घरधुरीमा खानेपानी तथा सरसफाइ सेवा पुर्याइएको छ भने १ हजार ७१० जनालाई मनोसामाजिक परामर्श र १ हजार २३९ जनालाई आपत्कालीन स्वास्थ्य सेवा प्रदान गरिएको छ।

सुरक्षा निकायलाई २ हजार ‘शव व्यवस्थापन झोला’ (बडी-ब्याग) उपलब्ध गराइएको छ।

तत्कालको नगद आवश्यकता पूरा गर्न धादिङका १९८ र नुवाकोटका २६२ घरधुरीलाई बहुउद्देश्यीय नगद सहयोग गरिएको छ। साथै, ५८७ मर्यादा किट, १ हजार ८७ स्वच्छता किट वितरण गरिनुका साथै बालमैत्री सुरक्षित स्थानमार्फत १ हजार १८९ बालबालिकालाई सेवा दिइएको छ।

नेपाल रेडक्रसले आगामी दिनमा विस्थापित परिवारको पुनःस्थापना, जीविकोपार्जन, स्वास्थ्य र सुरक्षित आवास निर्माणका क्षेत्रमा सरकारी प्राथमिकतासँग समन्वय गरी कार्यक्रम अघि बढाउने जनाएको छ।

असोज १०, २०८३ शनिबार ०७:१३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।