पानी परेपछि जागै हुन्छ चाम्लिङडाँडा

पानी परेपछि जागै हुन्छ चाम्लिङडाँडा
एआईको सहयोगमा बनाइएको तस्बिर

पाँचथर : वर्षा सुरु हुनासाथ पाँचथरको याङवरक गाउँपालिका-१ स्थित चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेका बासिन्दा रातभर जागै बस्न बाध्य छन्। पानी परेपछि पहिरोले गाउँ नै बगाउने चिन्ताले उनीहरूको निद्रा खोसिने गरेको हो।

गत जेठ ८ गते बिहान गाउँका सयौँ स्थानमा पहिरो खस्नुका साथै सबैजसो खोलाखोल्सीमा बाढी आएपछि सिङ्गो गाउँ नै जोखिममा परेको छ। बाढीपहिरोले गाउँ क्षतविक्षत बनाए पनि अन्यत्र जाने विकल्प नहुँदा यहाँका बासिन्दा ज्यानको बाजी राखेर जोखिमपूर्ण स्थानमै बसोबास गरिरहेका छन्।

बिरुवा टोलका बासिन्दा तथा साविक च्याङथापू गाविसका अध्यक्ष शङ्कर गुरुङको घर आसपास चारैतिर धाँजा फाटेको छ। घरको भुइँतलाको ढुङ्गा-माटोको गारो भत्किएको छ भने घर नै लच्किएको अवस्थामा छ। टोलको पुछारमा रहेको मेवा खोलामा भीषण पहिरो झर्न थालेपछि बिरुवा टोल नै उच्च जोखिममा छ।

"पानी पर्दा सबै घरका मानिस डाँडामा गएर सुत्छौँ। तर, लच्किएको भागलाई पहिरोले तान्यो भने भागेर गएको ठाउँ  पनि सुरक्षित हुँदैन," गुरुङले आफ्नो पीडा सुनाए, "हामी पहिरोभित्रै बसेका छौँ। चारैतिर धाँजा फाटेको छ। विगतमा खेतीपाती गरिएको ठाउँमा अहिले एकैछिन पनि बस्न नसकिने अवस्था छ। पानी पर्दा भागिहाल्नुपर्छ।"

पहिरोले बस्ती जोखिममा पारे पनि स्थानीयसँग नयाँ घर बनाउने वैकल्पिक जग्गा छैन। गुरुङले थपे, "धाँजा फाटेकोभन्दा माथि भाइको जग्गा छ, त्यहाँ घर बनाऔँ भने पनि तलको पहिरोले माथि तानिहाल्छ। हामीलाई निकै गाह्रो भयो।"

चाम्लिङडाँडाका रविन राई र रामकुमार राईको नियति पनि उस्तै छ। ठाडे खोलामा आएको बाढी र मेवा खोलाबाट उकालिँदै गएको पहिरोले रविनको सहित आधा दर्जन घर उच्च जोखिममा छन्।

"रातको समयमा पानी पर्यो भने त भाग्न पनि नपाइएला भन्ने पिर छ," रविनले भने, "हिउँद लाग्न थाले पनि बेमौसमी वर्षाका कारण कहिले पानी पर्छ भन्ने टुङ्गो नहुँदा असोज-कात्तिकमा पनि निर्धक्क भएर बस्ने अवस्था छैन।"

२०८० सालमा बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि पुनः यस्तो विपद् नआउला भन्ने आशामा बसेका स्थानीयहरू यसपटक झन् ठूलो पहिरो खसेपछि थप तनावमा परेका छन्।

च्याङथापूकै कोप्चेका भगिश्वर बेघाको गाईगोठ र शौचालय पहिरोले बगाइसकेको छ। माथिबाट खसेको ठूलो ढुङ्गाले तीनतले घरको मूल संरचना हल्लाइदिएको छ भने बरण्डा भाँचिएको छ। महिना दिन लगाएर घरभित्र पसेको पहिरो पन्छाएका भगिश्वर अझै पनि भल तर्काएर घर जोगाउने सङ्घर्षमा छन्।

"हामी गरिब दुःखी हौँ, घाँस दाउरा गरेर खान्छौँ। घर बनाउने अर्को ठाउँ छैन, राम्रो ठाउँजति पहिरोले भत्काएर लगिहाल्यो," उनले भने, "घरैसम्म पहिरो आइपुगेको छ, अब कसरी जीवन कटाउनु खै !"

जमिन समथर नहुँदा बेघा परिवारले भत्किएको शौचालयसमेत पुनः निर्माण गर्न सकेको छैन। उनकी श्रीमती तेजमाया बेघाले भनिन्, "पहिरोले क्षति गरेपछि हामी अत्तालियौँ। अर्कैको घरको शौचालय जानुपरेको छ। शौचालय बनाउने सजिलो ठाउँ पनि छैन, पैसा पनि छैन।"

कोप्चेका अर्का स्थानीय धनकुमार बेघा बाढीपहिरोकै कारण सडक, विद्युत् र खानेपानीबाट वञ्चित हुँदै गाउँलेहरूले कष्टकर जीवन बिताउनुपरेको बताउँछन्।

यता, सिस्नेका यामबहादुर मगरको घरसम्मै भीमकाय पहिरो आइपुग्न लागेको छ। घरछेउको पहिरोले उनीसहित पदमसिंह, सुजन र चन्द्रबहादुर मगरको परिवार विस्थापित हुने अवस्थामा पुगेका छन्। "यहाँ रातको समयमा सुताइ हुँदैन, अलि सुरक्षित ठाउँमा जान्छौँ," मगरले भने, "तर, पानी पर्यो भने त जहाँ पुगे पनि उस्तै जोखिम हुन्छ। हामी राम्ररी सुत्न सकेका छैनौँ।"

ठिङ्गेपुरका बलबहादुर नेपालीका अनुसार बाढी र पहिरोले भाङटारका चार र सिस्नेका चार घर पूर्ण रूपमा बस्न अयोग्य भएका छन्।

"यहाँका ज्येष्ठ नागरिकहरू विगतमा यस्तो क्षति कहिल्यै नदेखेको बताउनुहुन्छ," नेपालीले भने, "गाउँपालिका र वडाले अनुगमन गरेर सामान्य राहत त दिएका छन्, तर धेरै संरचनामा क्षति पुगेकाले स्थानीयको जीवन अत्यन्तै कष्टकर बनेको छ।"

पहिरोले खानेपानी र सिँचाइका योजनाहरू क्षतविक्षत बनाएको छ भने सिस्ने र कोप्चेको आवतजावत नै बन्द भएको छ।

याङवरक-१ का वडासदस्य नरबहादुर गुरुङका अनुसार चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेमा दर्जनौँ परिवार घरबारविहीन हुने जोखिममा छन्। "बस्ती नै जोखिममा छ, अन्यत्र जाने विकल्प नहुँदा पानी पर्नासाथ गाउँलेहरू रातभर जागै बस्नुपर्ने बाध्यता छ," वडासदस्य गुरुङले भने।

असोज ९, २०८३ शुक्रबार १२:०२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।