बेनी-जोमसोम-कोरला सडकमा राति गाडी चलाउन नपाइने
मुस्ताङ : उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकमा यही असोज ८ देखि ११ गतेसम्म राति यातायात सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक सूचना प्रकाशित गरी म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरदेखि कोरला नाकासम्म साँझ ६ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म रातिमा यातायात सञ्चालनमा रोक लगाएको जनाईएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार ती दिनमा वर्षा र हिमपातको सम्भावना रहेकाले सम्भावित विपद् र न्यूनीकरणका लागि जिल्ला प्रशासनले उक्त निर्णय गरेको हो।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार बिहीबारदेखि चार दिन वर्षा र हिमपातको पूर्व सूचनालाई मध्यनजर गरी त्यस क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइएको छ।
उनका अनुसार वर्षाका कारण कालीगण्डकी करिडोरको मुस्ताङ खण्डमा बाढी, पहिरो र नदी कटानको जोखिम रहेकाले सडक अवरुद्ध हुनसक्ने भएकाले सुरक्षित यात्राका लागि रात्रिकालीन समयमा यातायात सञ्चालन नगर्ने निर्णय भएको हो।
असोज ९, २०८३ शुक्रबार ११:०४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।