मकवानपुरका सहायक सिडिओलाई प्रश्न- ‘कुलेखानी ड्याम भरिएको हो?’

मकवानपुरका सहायक सिडिओलाई प्रश्न- ‘कुलेखानी ड्याम भरिएको हो?’

हेटौँडा : बिहीबारदेखिको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत आयोजनाको बाँध (ड्याम) भरिएको भन्ने हल्ला चलेपछि मकवानपुर जिल्ला प्रशासन कार्यालयले यसको खण्डन गरेको छ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले उकेरासँगको कुराकानीमा कुलेखानी ड्याममा पानीको सतह केही बढेको भए पनि खतराको तह पार नगरेको स्पष्ट पारेका छन्।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा ड्याम भरिएको र साइरन बजाइएको भन्ने भ्रमपूर्ण समाचार फैलिएपछि प्रशासनले वास्तविकता सार्वजनिक गरेको हो।

‘हिजोअस्तिको तुलनामा पानीको सतह थोरै बढेको छ, तर बाहिर हल्ला आएजस्तो खतराको तह पार गरेको छैन,’ सहायक प्रजिअ जोशीले उकेरासँग भने, ‘ड्यामको पूर्ण क्षमता १५ सय ३२ मिटर हो, तर अहिले पानीको सतह १५ सय २२ मिटर मात्र छ।’

जोशीका अनुसार ड्याममा पानीको सतह १५ सय २५ मिटर नाघेपछि मात्रै साइरन बजाएर पूर्वसूचना दिइने गरिन्छ।

‘१५ सय २५, १५ सय २७ गर्दै क्रमशः पानीको सतह बढ्दै गएपछि मात्र हामीले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउँछौँ,’ उनले भने, ‘अहिले खतराको तह पार भयो र साइरन बज्यो भन्ने कुरा पूर्ण रूपमा गलत र भ्रमपूर्ण छ।’

लगातारको वर्षाले देशभरका नदीनाला र बाँधहरूमा पानीको बहाव बढिरहेको सन्दर्भमा कुलेखानी ड्याम भरिएको भन्ने अपुष्ट सूचनाले तल्लो तटीय क्षेत्रका बासिन्दामा त्रास फैलिएको थियो।

प्रशासनले भने स्थानीय बासिन्दालाई नआत्तिन र आधिकारिक सूचनालाई मात्र विश्वास गर्न आग्रह गरेको छ।

असोज ९, २०८३ शुक्रबार ०९:४१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।