प्रधानमन्त्री शाह र अष्ट्रेलियन समकक्षी अल्बानिजबीच भेटवार्ता

प्रधानमन्त्री शाह र अष्ट्रेलियन समकक्षी अल्बानिजबीच भेटवार्ता

काठमाडौं : अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै गएको विनाशकारी बाढीपहिरोप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा अष्ट्रेलिया नेपालको साथमा रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभाका क्रममा न्यूयोर्कमा प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटवार्तापछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री अल्बानिजले यस्तो प्रतिबद्धता जनाएका हुन्।

प्रधानमन्त्री शाहसँगको भेटमा अल्बानिजले विपद् प्रभावितहरूप्रति अष्ट्रेलियाको तर्फबाट गहिरो समवेदना प्रकट गरेका थिए। साथै, उनले बाढी प्रभावित क्षेत्रमा अष्ट्रेलियाले हालसम्म गरिरहेको राहत तथा सहयोगको प्रयासबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए।

‘विनाशकारी बाढीपछिको पुनर्निर्माण र शोकको घडीमा अष्ट्रेलिया नेपाली जनताको साथमा उभिएको छ,’ अल्बानिजले आफ्नो पोस्टमा लेखेका छन्, ’जहाँ सबैभन्दा बढी आवश्यकता छ, त्यहाँ मद्दत पुर्याउन हामी नेपालसँग निरन्तर सहकार्य गरिरहनेछौँ।’

यसैगरी, उनले नेपालको बाढीपहिरोमा परी बेपत्ता भएका अष्ट्रेलियाली नागरिक र उनीहरूका परिवार तथा आफन्तजनप्रति आफ्नो ध्यान केन्द्रित रहेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेका छन्।
राष्ट्रसंघको महासभामा सहभागी हुने सिलसिलामा दुई देशका प्रधानमन्त्रीबीच न्यूयोर्कमा साइडलाइन भेटवार्ता भएको हो।

असोज ९, २०८३ शुक्रबार ०८:३२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।