नेपाललाई एसियाको रणनीतिक ‘पुल’ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले एसियाको बढ्दो प्रभावबीच नेपालको भौगोलिक अवस्थालाई अवसरमा बदल्दै देशलाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक 'पुल' (ब्रिज) का रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
न्यूयोर्कस्थित एसिया सोसाइटीले आयोजना गरेको ‘एसियाको उदाउँदो शताब्दीमा नेपालको भविष्यको मार्गदर्शन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले नेपाललाई परम्परागत रूपमा ‘सानो मुलुक’ मान्ने दृष्टिकोण बदल्नुपर्नेमा जोड दिए।
‘नेपाल सानो होइन, रणनीतिक रूपमा सही स्थानमा छ,’ मन्त्री खनालले भने, ‘छिमेकीको आकार भूगोलको यथार्थ हो, तर त्यो हाम्रो महत्त्वाकाङ्क्षाको सीमा कहिल्यै बन्नु हुँदैन।’
एसियाको उदयलाई नेपालका लागि महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै उनले काठमाडौँलाई एसियाको आर्थिक तथा सामाजिक रूपान्तरणको केन्द्र बनाउन सकिने धारणा राखे।
‘अबको प्रश्न दुई ठूला छिमेकीबीच नेपाल कसरी बाँच्ने भन्ने होइन, उनीहरूबीच र विश्वमै नेपालले कसरी आफ्नो मूल्य सिर्जना गर्ने भन्ने हो’, उनले भने। बुद्ध, अरनिको र भृकुटीको ऐतिहासिक सन्दर्भ जोड्दै उनले थपे, ‘हाम्रा पुर्खाले स्पष्ट बुझेका थिए- सम्पर्कले समृद्धि ल्याउँछ, एक्लिँदा गरिबी बढ्छ।’
जलवायु परिवर्तन अब रणनीतिक प्राथमिकता
हालै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै मन्त्री खनालले जलवायु परिवर्तनलाई नेपालको परराष्ट्र नीतिको मुख्य रणनीतिक प्राथमिकता बनाउनुपर्ने स्पष्ट पारे।
यसका लागि प्रभावकारी पूर्वसूचना प्रणाली, तथ्याङ्क आदानप्रदान, अनुदानमा आधारित जलवायु वित्त र अन्तर्राष्ट्रिय समुदायसँगको व्यावहारिक सहकार्य आवश्यक रहेको उनले औँल्याए।
नेपालको जलविद्युतलाई क्षेत्रीय अर्थतन्त्रसँग जोड्दै भारत हुँदै बङ्गलादेशसम्म बिजुली निर्यात हुन थालेको उनले बताए। यसैगरी, उत्तरतर्फ चीनसँगको सहकार्यलाई व्यावहारिक र दीर्घकालीन बनाउँदै सडक, सुरुङ, सुक्खा बन्दरगाह र सीमापार रेलसहितको ‘ट्रान्स-हिमालयन कनेक्टिभिटी’ विकास गर्नुपर्नेमा उनले जोड दिए।
नेपालको विकासमा अन्तर्राष्ट्रिय साझेदारी अपरिहार्य रहेको भन्दै मन्त्री खनालले अमेरिका, युरोप, आसियान, ल्याटिन अमेरिका लगायतका साझेदारहरूलाई नेपालमा लगानी र सहकार्यका लागि आह्वानसमेत गरे।
असोज ९, २०८३ शुक्रबार ०८:१८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।