पहिरोले बिपी राजमार्ग अवरुद्ध
काभ्रेपलाञ्चोक : अविरल वर्षासँगै खसेको पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ।
बुधबार बिहान ४:३० बजे रोशी गाउँपालिका-७ स्थित चारसयबेँसी र वडा नम्बर ८ को गिम्दीमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागको भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै प्रशासनले बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा रातको समयमा सवारी आवागमनमा रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले असोज ८ गतेदेखि १२ गतेसम्म हरेक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन नपाइने बताए।
बाढीपहिरोको जोखिम मूल्याङ्कन गरी अवस्था हेरेर दिउँसोसमेत सवारीसाधन सञ्चालनमा रोक लगाउन सकिने प्रशासनले जनाएको छ। निर्णय कार्यान्वयनमा सहजीकरण गर्न छिमेकी जिल्ला सिन्धुली र भक्तपुर प्रहरीलाई पनि अनुरोध गरिएको छ।
स्थानीय प्रशासनले नदी किनार र पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। साथै, प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र दिउँसोको समयमा यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
असोज ९, २०८३ शुक्रबार ०७:५५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।