धवलागिरि आरोहण टोली फर्कियो

धवलागिरि आरोहण टोली फर्कियो

म्याग्दी : म्याग्दीस्थित संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) आरोहण गर्न आधार शिविर पुगेका पर्वतारोहीहरू प्रतिकूल मौसमका कारण फर्किएका छन्।

आरोहणको समन्वय गरिरहेका पर्यटनकर्मी इन्द्रसिंह शेरचनका अनुसार सम्भावित जोखिमबाट बच्न ३० जनाको टोली बिहीबार फर्किएको हो।

‘असोज ९ देखि ११ गतेसम्म भीषण वर्षा हुने पूर्वसूचनाका कारण टोली फर्किएको हो,’ शेरचनले भने, ‘मौसम सफा भएमा चार दिनपछि आरोहणलाई निरन्तरता दिने गरी उनीहरू तल्लो क्षेत्रमा रहेको इटली आधार शिविर झरेका छन्।’

केही पर्वतारोही भने हेलिकप्टरमार्फत पोखरा पुगेका छन्।

‘एट् के’, ‘सेभेन समिट’ र ‘फोर्टिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत उनीहरू गत शनिबार मात्रै धवलागिरि आधार शिविर पुगेका थिए।

मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दीलाई बिहीबारदेखि आइतबारसम्म भारी वर्षा हुने जोखिमयुक्त क्षेत्रमा राखेका छन्।

यसैलाई मध्यनजर गर्दै पर्यटन विभाग र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले सतर्कता अपनाउन र मौसम अनुकूल नहुँदासम्म आधार शिविरतर्फ नजान सूचना जारी गरेका छन्।

पर्यटन विभागका अनुसार चालु शरदयाममा धवलागिरि आरोहणका लागि १० महिलासहित ३४ जनाले अनुमति लिएका छन्। उनीहरूबाट करिब ७७ लाख ८२ हजार रुपैयाँ सलामी दस्तुर (आरोहण शुल्क) उठेको छ।

छिनछिनमा मौसम परिवर्तन हुने भएकाले धवलागिरि आरोहण अन्य हिमालको तुलनामा निकै जोखिमयुक्त मानिन्छ। सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरसहितको टोलीले पहिलोपटक यो हिमालको सफल आरोहण गरेको थियो।

यसैबीच, भारी वर्षाकै कारण म्याग्दीकै अन्नपूर्ण आधार शिविर पुगेका पर्यटक पनि फर्किएका छन्। मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङका अनुसार बिहीबारदेखि पदयात्रा बन्द भएको छ।

पर्यटकयाम सुरु हुनै लाग्दा विपद् र खराब मौसमका कारण धेरै पर्यटकले आफ्नो भ्रमण रद्द गरेको गुरुङले बताए।

असोज ९, २०८३ शुक्रबार ०७:४८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।