‘विश्वको जुनसुकै कुनामा ७२ घण्टामा हतियार पुग्छ तर किसानले मल पाउँदैनन्, हामीलाई ऋण होइन जलवायु न्याय चाहिएको हो’

‘विश्वको जुनसुकै कुनामा ७२ घण्टामा हतियार पुग्छ तर किसानले मल पाउँदैनन्, हामीलाई ऋण होइन जलवायु न्याय चाहिएको हो’

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान विश्व व्यवस्था, जलवायु अन्याय र शक्ति राष्ट्रहरूको दोहोरो चरित्रमाथि कडा प्रहार गरेका छन्।

महासभामा उपस्थित सबैभन्दा कान्छो सरकार प्रमुखका रूपमा मञ्चमा उभिएका प्रधानमन्त्री शाहले नेपालले नगरेको गल्तीको सजाय भोगिरहेको भन्दै ऋण होइन, क्षतिपूर्तिसहितको ‘जलवायु न्याय’ पाउनुपर्ने दाबी पेस गरे।

‘हिमाली सुनामी’ र नयाँ संयन्त्रको प्रस्ताव
भोटेकोशी र त्रिशूलीमा हालै आएको विनाशकारी बाढीलाई ‘हिमाली सुनामी’को संज्ञा दिँदै प्रधानमन्त्री शाहले यो सिङ्गो मानव सभ्यताका लागि गम्भीर चेतावनी भएको बताए।

‘विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम छ, तर हामीले जलवायु सङ्कटको भयानक मूल्य चुकाइरहेका छौँ,’ उनले भने, ‘अरूले गरेको गल्तीको मर्मत गर्न गरिब देशले ऋण लिनुपर्ने अवस्था अन्त्य हुनुपर्छ।’

विपद्का बेला राहत, पुनर्स्थापना र पुनर्निर्माण मात्र पर्याप्त नहुने भन्दै उनले विश्व समुदायले दायित्व, क्षतिपूर्ति र उत्थानशीलताको सिद्धान्त पनि अपनाउनुपर्ने नयाँ सूत्र अघि सारे।

साथै, हिमाली क्षेत्रको सङ्कट समाधान गर्न उनले नेपाल, भारत र चीन सम्मिलित ‘हिमाली जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्ने महत्त्वपूर्ण प्रस्तावसमेत महासभामा राखे।

विश्व व्यवस्थामाथि कडा व्यङ्ग्य
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विश्वको आपूर्ति प्रणाली र शक्ति राष्ट्रहरूको प्राथमिकताप्रति गरेको कटाक्ष समेत गरे।

उनले भने, ‘हामीले युद्धका लागि त्रुटिरहित र खाद्यान्नका लागि भत्किएको आपूर्ति प्रणाली बनाएका छौँ। अन्तरमहादेशीय क्षेप्यास्त्र र हतियारहरू संसारको जुनसुकै कुनामा ७२ घण्टाभित्र पुग्छन्, तर मनसुन सुरु हुँदा नेपालको एउटा गरिब किसानले आफ्नो खेतमा हाल्ने मल पाउँदैन।’

उनले यो नियति नेपालको मात्र नभई बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स लगायत यस क्षेत्रका सबै देशको भएको उल्लेख गर्दै न्यायपूर्ण विश्व आर्थिक व्यवस्थाको माग गरे। संयुक्त राष्ट्रसंघको जन्म युद्धको त्रासदीबाट भएको स्मरण गराउँदै उनले सैन्य र आर्थिक शक्तिका आधारमा मात्र कसको आवाज सुन्ने भन्ने निर्धारण हुन नहुने स्पष्ट पारे।

युवा आकाङ्क्षा र नेपालको प्रगति
सम्बोधनको अन्त्यतिर आन्तरिक राजनीतिको प्रसङ्ग कोट्याउँदै प्रधानमन्त्री शाहले नयाँ पुस्ताको उदयले राजनीतिमा जवाफदेहिता, निष्ठा र परिणामको माग गरेको बताए।

नेपालले वनजङ्गलको क्षेत्रफल बढाएर आधा भूभाग पुर्याएको र जलविद्युतमा फड्को मारिरहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले नेपालले आफ्नो क्षमताभन्दा बढी विश्व वातावरण संरक्षणमा योगदान गरिरहेको दाबी गरे।

‘हामी यस्तो राज्य निर्माण गर्दैछौँ जसले रोजगारी सिर्जना गर्छ र हरेक नेपालीलाई आफ्नै देशमा फस्टाउने अवसर प्रदान गर्छ’, प्रधानमन्त्री शाहले उद्घोष गरे।

‘भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्, यो विश्व बुद्धले देखाएको बाटोमा हिँँड्न सकोस्’ भन्दै उनले आफ्नो सम्बोधन टुङ्ग्याए।

सम्बन्धित समाचार:

असोज ९, २०८३ शुक्रबार ०७:२३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।