राष्ट्रसंघमा प्रधानमन्त्रीको उद्घोष- युवालाई स्वदेशमै भविष्य देखाउने राज्य निर्माण गर्दैछौँ
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा भर्खरै सम्पन्न शान्तिपूर्ण चुनाव र नयाँ पुस्ताको उदयले राजनीतिमा जवाफदेहिता र निष्ठाको माग गरेको बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले आफू यस महासभामा उपस्थित सबैभन्दा कान्छो सरकार प्रमुख भएको जानकारी गराउँदै युवा पुस्ताको आकाङ्क्षालाई प्रतिनिधित्व गरेको बताए।
नेपालले आन्तरिक रूपमा वनजङ्गलको क्षेत्रफल बढाएर आधा भूभाग पुर्याएको, जलविद्युतमा फड्को मारेको र विद्युतीय सवारीसाधनको प्रयोगलाई युरोपको दाँजोमा पुर्याउन लागेको तथ्याङ्क प्रस्तुत गर्दै उनले नेपालले आफ्नो क्षमताभन्दा बढी विश्व वातावरण संरक्षणमा योगदान गरिरहेको बताए।
‘मेरो सरकारको स्पष्ट प्रतिबद्धता छ- हामी यस्तो राज्य निर्माण गर्दैछौँ जसले रोजगारी सिर्जना गर्छ, सामाजिक सुरक्षा दिन्छ र हरेक नेपालीलाई आफ्नै देशमा फस्टाउने उचित अवसर प्रदान गर्छ’, प्रधानमन्त्री शाहले भने।
उनले नयाँ पुस्ताले थोपरिएका निराशाभन्दा पनि काम गर्ने र परिणाम दिने सरकार खोजेको भन्दै आफ्नो नेतृत्वले सोही दिशामा काम गरिरहेको अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराए।
असोज ९, २०८३ शुक्रबार ०७:११:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।