विश्व व्यवस्थाप्रति बालेनको कटाक्ष : हतियार ७२ घण्टामै पुग्छन्, तर किसानले मल र बीउ पाउँदैनन्

विश्व व्यवस्थाप्रति बालेनको कटाक्ष : हतियार ७२ घण्टामै पुग्छन्, तर किसानले मल र बीउ पाउँदैनन्

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान विश्व व्यवस्था र शक्ति राष्ट्रहरूको प्राथमिकताप्रति राष्ट्रसंघको मञ्चबाटै कडा कटाक्ष गरेका छन्।

उनले युद्धका लागि हतियारहरू संसारको जुनसुकै कुनामा ७२ घण्टाभित्र पुग्ने तर एउटा गरिब किसानले समयमा मल र बीउ नपाउने भन्दै विश्वको आपूर्ति प्रणाली माथि प्रश्न उठाए।

‘हामीले युद्धका लागि त्रुटिरहित र खाद्यान्नका लागि भत्किएको आपूर्ति प्रणाली बनाएका छौँ,’ प्रधानमन्त्री शाहले भने, ‘अन्तरमहादेशीय क्षेप्यास्त्रहरू समयमै पुग्छन्, तर मनसुन सुरु हुँदा नेपालको एउटा किसानले आफ्नो खेतमा हाल्ने मल पाउँदैन। यो नेपालको मात्र होइन, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स लगायत यस क्षेत्रका सबै देशको साझा नियति हो।’

सैन्य र आर्थिक शक्तिले मात्र कसको आवाज सुन्ने भनेर निर्धारण गर्न नहुने भन्दै उनले न्यायपूर्ण विश्व आर्थिक व्यवस्थाको माग गरे।

संयुक्त राष्ट्रसंघ साना र गरिब राष्ट्रहरूको पनि साझा चौतारी भएकाले यहाँ साना देशको आवाज सुनिने वातावरण बन्नुपर्नेमा उनले जोड दिए। भूगोलभन्दा पनि मानिसको सुरक्षा र मानव अधिकार महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
 

असोज ९, २०८३ शुक्रबार ०७:०४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।