राष्ट्रसंघमा प्रधानमन्त्री बालेनले भने- नेपालले नगरेको गल्तीको भारी बोक्दै छ
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले ‘हिमाली सुनामी’को सामना गरिरहेको भन्दै विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढी पहिरोलाई ‘हिमाली सुनामी’को संज्ञा दिँदै यो केवल स्थानीय विपद् नभई विश्वका लागि गम्भीर चेतावनी भएको बताए।
‘विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशत भन्दा कम छ, तर हामीले नगरेको गल्तीको भयानक मूल्य चुकाइरहेका छौँ’, उनले भने।
हिमालका हिमनदीहरू पग्लिँदै गएको र पहाडहरू अस्थिर बन्दै गएको उल्लेख गर्दै उनले हिन्दुकुश हिमालय क्षेत्रका करिब दुई अर्ब मानिसको जीवन र जीविकोपार्जन सङ्कटमा परेको बताए।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका एजेन्डामा वैज्ञानिकहरूले निरन्तर चेतावनी दिए पनि विश्वका राजनीतिक नेतृत्वले त्यसलाई गम्भीरतापूर्वक नलिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘हाम्रा हिमालहरू सङ्कटमा पर्दा त्यसको असर नेपालमा मात्र सीमित रहँदैन, यो सिङ्गो मानव सभ्यताको सङ्कट हो’, उनले सम्बोधनका क्रममा भने।
असोज ९, २०८३ शुक्रबार ०६:४९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।