प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच न्यूयोर्कमा भेटवार्ता
न्यूयोर्क : प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कमा भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि बिहीबार राष्ट्रसंघीय मुख्यालयमा महासचिव गुटेरेससँग भेट गरेका हो। भेट स्थानीय समयअनुसार साँझ ६:३० बजे (नेपाली समयअनुसार शुक्रबार बिहान ४:१५ बजे) भएको थियो।
भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै जलवायु परिवर्तनका मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालको साथमा रहेको ऐक्यबद्धता जनाए।
सन् १९७८ मा पर्यटकका रूपमा नेपाल भ्रमण गरेको स्मरण गर्दै उनले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले महासभामा सहभागी नेपाली युवा प्रतिनिधिमण्डलको प्रशंसासमेत गरे।
प्रधानमन्त्री शाहले नेपालप्रतिको अगाध सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे। भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालमा हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराए।
सो अवसरमा नदी किनारका प्रभावित बासिन्दाको सुरक्षित पुनर्वास र हरित पुनर्निर्माणका विषयमा गम्भीर छलफल भएको थियो। त्यसैगरी, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नति हुने समयसीमा थप गर्ने विषयमा राष्ट्रसंघको समर्थन जुटाउनेबारे पनि द्विपक्षीय कुराकानी भएको थियो।
असोज ९, २०८३ शुक्रबार ०६:३९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।