पानीको बहाव बढेपछि कोशी ब्यारेजमा बालियो रातो बत्ती, २३ ढोका खुला

पानीको बहाव बढेपछि कोशी ब्यारेजमा बालियो रातो बत्ती, २३ ढोका खुला

इनरुवा : पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा वृद्धि भएको छ। 

बिहीबार साँझ सवा ५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर बग्ने पानीको बहाव एक लाख ८५ हजार १३० क्युसेक प्रतिसेकेन्ड रहेको छ।

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मूल ५२ वटा र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोकामध्ये २३ वटा ढोका खुल्ला गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको छ, भने रातो झण्डासमेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमानसहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ।

नदीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए।

नेपाल मौसम विज्ञान विभागद्वारा जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

असोज ८, २०८३ बिहीबार २२:०१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।