पक्राउ परेका चिनिया नागरिकले प्रहरीलाई सोधे ‘यो सरकार चीन विरोधी हो?’

पक्राउ परेका चिनिया नागरिकले प्रहरीलाई  सोधे ‘यो सरकार चीन विरोधी हो?’

काठमाडौं : प्राय : क्यासिनोहरुमा डिएसपीको कमान्डमा रहने जुन वृत्तको कार्यक्षेत्र पर्छ उसैले छापा मार्ने गरे पनि आइतबार ठमेलको वाल्दो क्यासिनोमा फरक दृश्य देखियो। 

त्यहाँ स्थानीय वृत्त वा एसएसपीको कमान्डमा रहने जिल्ला प्रहरी परिसर मात्रै हैन एआइजीको कमान्डमा रहने र गम्भीर र स्थानीय प्रहरीले अनुसन्धान गर्न कठिन हुने अपराध अनुसन्धानका लागि गठन गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली समेत संलग्न थियो।

वाल्दो क्यासिनोमा सिआइबीसँगै मानव बेचबिखन ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी वृत्त दरबारमार्ग र सोर्हखुट्टेका प्रहरी पुगेर घेरा हालेका थिए।

उनीहरूले क्यासिनोमा घेरा हालेर केही भारतीयसँगै अधिकांश चिनिया नागरिकहरूलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा ल्यायो।

जब प्रहरी कार्यालयमा ल्याइयो अनि चिनिया नागरिकहरूले प्रहरीमाथि प्रश्न गर्न थाले “तिमिहरूको सरकार चीन विरोधी हो?” 

घटनाबारे जानकारस्रोतका अनुसार उनीहरूले नेपालमा आउने अमेरिकीहरूलाई केही नगर्ने तर आफूहरू नेपालको कानुन अनुसार वैध भिसा लिएर आउँदा पनि बारम्बार दुख दिने गरेको भन्दै वर्तमान सरकार नै चीन विरोधी रहेको भन्दै प्रहरी कार्यालयमै विरोध गर्न थाले।

जानकारस्रोतका अनुसार प्रहरीले ५७ जना चिनिया नागरिकलाई नियन्त्रणमा लिएको थियो। ती सबैलाई जिल्ला प्रहरी परिसरमा लगिएको थियो। जब उनीहरूको कानुनी हैसियत हेरियो एक जना चिनिया नागरिक बाहेक अन्यको भिसामा कुनै समस्या देखिएन।

अनि भिसा अवधि सकिइसकेको देखिएका चिनिया नागरिकलाई प्रहरीले अध्यागमन विभाग पठायो। अन्य चिनिया नागरिकलाई एक रात हिरासतमा राखेर भोलिपल्ट हिरासतमुक्त गरायो।

उकेराले प्राप्त गरेको जानकारी अनुसार गृहमन्त्री सुधन गुरुङको निर्देशनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो स्थानीय प्रहरीले गर्ने छापा मार्ने काममा संलग्न भएको थियो।

तर छापा मारेर नियन्त्रणमा लिएका चिनियाहरु गम्भीर आपराधिक गतिविधिमा संलग्न रहेको नखुलेपछि अनि उनीहरूले नेपालको कानुन मानेर बस्दा पनि किन दुख दिएको भनेर प्रतिवाद गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रण मुक्त गरेको थियो।

“क्यासिनो भित्र चिनिया नागरिकहरू अवैध रूपमा रहेका र उनीहरू गम्भीर अपराधमा संलग्न रहेको सूचनाका आधारमा सिआइबीदेखि मानव बेचबिखन ब्युरोको टोलीसम्म सहभागी भए पनि सूचना अनुसार केही पनि फेला परेन” एक उच्चतहका प्रहरी अधिकारीले उकेरासँग भने।

उकेराले के सूचना थियो अनि के आधारमा क्यासिनो छापा मार्न प्रहरीको संयुक्त टोली खटिएको हो भने छापामा संलग्न प्रहरी कार्यालयका सूचना अधिकारीहरूसँग जिज्ञासा राखेको थियो।

सिआइबीका प्रवक्ता अनुपम शमशेर राणाले संयुक्त अप्रेसन रहेको र कार्यालयको प्रमुखको निर्देशनमा अप्रेसनमा सिआइबी टिम संलग्न भएको दाबी गरे।

“त्यहाँ त धेरै कुरा हुन्छ नि। त्यसैले गएको हो” उनले भने।

उकेराले गृह मन्त्रालयबाट आएको निर्देशन अनुसार गएको हो भनेर राखेको जिज्ञासामा उनले भने "अब यो कुरा त हामीलाई थाहा हुन्न, माथिको कुरा हो। एआईजी सापबाट भनेर टोली गएको हो” उनले भने।

अनि उकेराकर्मीले जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापासँग संयुक्त अप्रेसनबारे सोध्यो। थापाले क्यासिनोबाट ५८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको र आइतबार नै छोडिएको बताए। केहीले भिसाको दुरुपयोग गरेको देखिएको उनले उकेरासँग दाबी गरे।

“एकजना चिनियाले भिसाको गलत प्रयोग गरेको थाहा पाएपछि उनलाई अध्यागमन विभागको जिम्मा लगाइएको थियौँ,” उनले भने “बाँकीको हकमा केही पनि नदेखिएकाले छोडिदिएको हो।”

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार प्रहरीले एकजना चिनिया नागरिक भिजा सकिएर पनि लामो समय नेपालमै बसोबास गरेको भनेर पठाएको जानकारी दिए।

उनले भने, “एक जना चिनियाँ १५० दिन अघि नै भिसाको म्याद सकेको रहेछ। हिजो (बुधवार) उनलाई टिकेर काटेर पठाइसकेको छौँ” उनले भने।

असोज ८, २०८३ बिहीबार २१:०५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।