हुण्डी कारोबार गरेको आरोपमा धरानबाट एक जना पक्राउ, ५२ बैंकका खातामार्फत एक अर्बभन्दा बढीको कारोबार
धरान : विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्थामा खोलिएका खातामार्फत एक अर्ब तीन करोड चौरासी लाख रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको आरोपमा सुनसरीबाट एक जनालाई पक्राउ परेका छन्।
जिल्ला अदालत सुनसरीबाट मंगलबार पक्राउ अनुमति लिएर प्रहरीले धरान उपमहानगरपालिका-१३ स्थायी वतन भएका ज्योति शाहीलाई बिहीबार साँझ पक्राउ गरेको हो। उनलाई धरान उपमहानगरपालिका-५ स्थित खैरेनीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हुण्डी कारोबार गरिरहेको सूचना प्राप्त भएपछि सीआईबीले अनुसन्धान थालेको थियो। सोहीक्रममा शाहीले घरेलु तथा साना उद्योग कार्यालय इटहरीमा २०६८ भदौ १६ गते दर्ता गरेको ‘शाही मनि ट्रान्सफर’को नामबाट विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा खाता खोलेर कारोबार गरिरहेको खुलेको थियो।
कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकसहित ५२ वटा बैंक तथा वित्तीय संस्थाहरूमा खाता खोली कारोबार गरेको प्रहरीले जनाएको छ। ती खाताहरूमार्फत असम्बन्धित व्यक्तिहरूले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट स्वदेश भित्र्याउने, स-साना भाग बनाउने र ‘कनेक्ट आईपीएस’ लगायतका विद्युतीय डिजिटल माध्यम प्रयोग गरी अन्य व्यक्तिका खातामा उनले पठाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
उक्त खाताहरूबाट कुल करिब एक अर्ब तीन करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबरको हुण्डी कारोबार भएको प्रहरीले जनायो। हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरअन्तर्गत पक्राउ परेका शाहीमाथि थप अनुसन्धान भइरहेको छ। उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको थियो।
असोज ८, २०८३ बिहीबार २०:३१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।