वर्षा प्रभावित क्षेत्रमा असोज १३ सम्म क्षेत्रीय अधिवेशन सम्पन्न गर्न कांग्रेसको निर्देशन
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको १५ औँ महाधिवेशनअन्तर्गत हालसम्म ६६ जिल्लाका ६ सय ३० पालिकामा निर्वाचन प्रक्रिया सम्पन्न भएको जनाएको छ। वडा तहका अधिवेशन सम्पन्न गरिसकेको कांग्रेस अहिले गाउँ/नगर तहका अधिवेशनमा केन्द्रित छ।
साथै, वर्षाका कारण प्रतिकूल अवस्था सिर्जना भए, त्यस्तो स्थानमा प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका कार्यक्रमहरू आगामी असोज १३ गतेभित्र सम्पन्न गर्न निर्देशन समेत दिएको छ।
बिहीबार निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा मौसम अनुकूल रहेका स्थानमा भने पूर्वनिर्धारित कार्यतालिकानुसार असोज १० गते नै निर्वाचन सम्पन्न गर्न र प्रतिकूल रहेका क्षेत्रमा भने सम्बन्धित जिल्ला र क्षेत्रीय पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र अनुकूलता हेरेर आवश्यक व्यवस्था मिलाउन भनिएको छ।
वर्षाका कारण अधिवेशन प्रक्रियामा कठिनाइ उत्पन्न भएको जानकारी प्राप्त भएको जनाउँदै समितिले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
असोज ८, २०८३ बिहीबार १८:२८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।