विधानमै नभएको ‘वरिष्ठ नेता’ पद सिर्जना गरेर एमालेले दियो पूर्वराष्ट्रपति भण्डारीलाई जिम्मेवारी
काठमाडौं : एमालेले पार्टीको विधानमा व्यवस्था नभएको ‘वरिष्ठ नेता’ पद सिर्जना गरेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्काएको छ। काठमाडौंमा जारी एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा अनुमोदन गरेको हो।
एमालेको नेतृत्व लिने तयारीसहित पार्टी राजनीतिमा फर्किन पूर्व राष्ट्रपति भण्डारीले सदस्यता नवीकरणको लागि दिएको निवेदन ११ औँ महाधिवेशन अघि राष्ट्रपति भएर देशको अभिभावकत्व गरिसकेको व्यक्ति पार्टी राजनीतिमा आउन नमिल्ने भनेर रोकेको थियो।
गत फागुनको चुनावमा हारेपछि दबाबमा परेका एमाले अध्यक्ष केपी शर्मा ओली उनको सदस्यता नवीकरण गर्न सहमत भएका थिए। जेठमा उनको सदस्यता खुलाउने निर्णय गरेको एमालेले केन्द्रीय कमिटीको तेस्रो बैठकबाट सर्वसम्मतिले भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दियो।
केन्द्रीय कमिटीको बैठकअघि आजै भएको सो पार्टीको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीसहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो। एमालेका सचिव हिक्मत कार्कीले भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने र उनको राजनीतिक तथा साङ्गठनिक अनुभवले पार्टीको आगामी कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
बैठकपछि प्रतिक्रिया दिँदै सचिव पद्मा अर्यालले भण्डारीजस्तो अनुभवी र सम्मानित नेतालाई सदस्यता दिइसकेपछि विशुद्ध पार्टी सदस्य बनाएर मात्रै राख्न उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिइएको बताइन्।
अर्का सचिव महेश बस्नेतले केन्द्रीय कमिटीको बैठक सौहार्दरुपमा सम्पन्न भएको उल्लेख गर्दै ‘नेतृत्व र पार्टीमाथि भएको हमलालाई निराश’ बनाउँदै पार्टीलाई एकताबद्ध तथा उत्साहित बनाउँदै बैठक सम्पन्न भएको जिकिर गरे। उनले विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मुद्दामा न्यायालयबाट छिटो र उपयुक्त निर्णय आउने आशा व्यक्त गरे।
यही असोज ५ गतेदेखि जारी केन्द्रीय कमिटीको बैठक आज सकिएको छ। केन्द्रीय कमिटीको बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो।
असोज ८, २०८३ बिहीबार १७:२८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।