भरत दाहाललाई तारेखमा छाड्न सर्वोच्चको परमादेश

भरत दाहाललाई तारेखमा छाड्न सर्वोच्चको परमादेश

काठमाडौं : सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न बिहीबार परमादेश दिएको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले बिहीबार नेपाल प्रहरीको साइबर ब्युरोका नाममा जारी गरेको परमादेशमा दाहाललाई हिरासतमा राखिराख्नुपर्ने आधार र कारण नदेखिएको भनेको हो।

पक्राउविरुद्ध दाहालकी छोरी डेनिकाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। अदालतले दाहालको बयानसमेत सकिसकेको, हिरासतमा राख्नुपर्ने नदेखिएको र अनुसन्धानलाई निरन्तरता दिनुपर्ने भए तारेखमा राखेर अनुसन्धान गर्न परमादेश दिएको छ।

सामाजिक सञ्जालमा व्यक्त विचारलाई लिएर साइबर ब्युरोले उनलाई असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतबाट पहिलो पटक तीन दिनको म्याद थप गरी विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएकोमा असोज ६ गते नै उनको बयान लिइएको थियो। 

असोज ८, २०८३ बिहीबार १६:५४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।